सूचनाको शक्ति - The Power Of Information

        

गौहत्या प्रकरण

नेपालगन्ज उपमहानगरका नगर प्रहरी निरीक्षक बोगटीसहित १० जनालाई कैद सजाय

फाइल तस्वीर

सुर्खेत । जिल्ला अदालत सुर्खेतले गौहत्या प्रकरणमा दोषी ठहरिएका १० जनालाई कैद सजाय सुनाएको छ । अदालतले नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीसहित १० जनालाई गौहत्यामा दोषी ठहर गरेको हो । अदालतले उनीहरूलाई तीन महिनादेखि डेढ वर्षसम्म जेल सजाय तोकेको छ ।

२०७६ भदौ १३ गते नेपालगन्ज उपमहानगरपालिकाले दैलेख पठाएका २९१ ओटा गाईमध्ये ३७ ओटा गाईहरु सुर्खेतका विभिन्न ठाउँमा मृत फेला परेका थिए । जिल्ला अदालतका न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार मुलुकी अपराध संहिताको २८९ बमोजिम गौहत्याका आरोपीमध्ये १० जनालाई तीन महिनादेखि १६ महिनासम्मको कैद सजाय तोकेको हो ।

गौहत्यामा प्रतिवादी बनाइएका ढुवानी सञ्चालकसहित सात जनाले सफाई पाएका छन् । जसमध्ये नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीलाई १ बर्ष ६ महिना, नगर प्रहरी सहायक निरीक्षक विकास गौतमलाई १ वर्ष, नगर प्रहरी जवान चन्द्रबहादुर राना, शुसान्त शाही, सुवर्ण तारामी मगर र कमल बयकलाई ६–६ महिना कैदको फैसला भएको श्रेष्तेदार यमप्रसाद बाँस्कोटाले जानकारी दिए ।

यस्तै उपमहानगरपालिकाद्वारा सञ्चालित काञ्जीहाउसका कर्मचारी पवनकुमार कनोजियालाई ५ महिना र कर्मचारीद्वय राकेश भारती र धर्मेन्द्र नेपालीलाई तीन–तीन महिनाको कैद सजाय सुनाइएको छ । यस्तै नगरपालिकाका फायरम्यान कमल थापामगरलाई पनि ३ महिनाको कैद सजाय सुनाइएको उल्लेख छ ।

सफाई पाउनेमा गाई ओसार्ने कार्यमा संलग्न चितवन क्यारियरका सञ्चालक सन्तृप्त श्रेष्ठ र ट्रक चालकहरु हिमबहादुर जिसी, दामोदर केसी, शत्रुधन चौधरी, सागर विश्वकर्मा र सहचालकहरु विवेक कुँवर, कृष्णबहादुर बिसी रहेका छन् ।

गौहत्यामा बयान लिए पनि बाँकेका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलशम्शेर राणा, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल र जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाको हकमा भने जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतले मुद्दा नचलाउने निर्णय गरेको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाद्वारा सञ्चालित काञ्जि हाउसमा रहेका गाईरगोरू र बाच्छाबाच्छी २०७६ भदौ १३ गते ट्रकमा राखेर दैलेख पठाउन थालिएको थियो । त्यसक्रममा २९१ गाई–गोरू र बाच्छाबाच्छीमध्ये ३९ वटा मरेका थिए । छिन्चु–सुर्खेत सडक खण्ड र सुर्खेत–दैलेख सडक खण्डमा त्यी पशुहरु मरेको अबस्थामा भेटिएका थिए ।

ट्रकहरूलाई स्कर्टिङ गरेर आएको नगर प्रहरी निरीक्षकको टोलीले भदौ १३ गते राति नै सुर्खेतको कटकुवा र बिउरेनी जंगलमा गाई–गोरू झारेको थियो । अदालतबाट कैद सजाय पाएका सबै यसअघिनै धरौटीमा छुटिसकेका छन् ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार १९:३५