सूचनाको शक्ति - The Power Of Information

        

मापसे गरेर सिक्री, औँठी र ब्रासलेट लुट्ने दुईजना पक्राउ

काठमाडौं । लुटपाटमा संलग्न २ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङ्गको जय पृथ्वी नगरपालिकाका २१ वर्षीय सुनिलबहादुर सिंह र सिधुपाल्चोक साँगा चोकगढी नगरपालिकाका ३४ वर्षीय कृष्णबहादुर श्रेष्ठ रहेका छन् ।

पक्राउ परेका दुवै जना काठमाडौंको दरवारमार्ग स्थित दोहोरी साँझमा काम गर्ने युवक रहेका महानगरीय प्रहरी परिसरका प्रवक्ता रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

गत माघ १० गते राति १ बजेको समयमा काठमाडौंका प्रविनकुमार भण्डारीलाई प्रहरीले शंकास्पद अवस्थामा फेला पारेको थियो । सोधपुछको क्रममा भण्डारीले मादक पदार्थ सेवन गरेर लठ्ठ परेको समयमा सिंह र श्रेष्ठले उनीमाथि लुटपाट गरेको खुलेको छ ।

अभियुक्तहरूले भण्डारीको साथमा रहेको सुनको लकेटसहित सिक्री, औँठी र ब्रासलेट लुटेर फरार भएका थिए । प्रहरीले उनीहरुबाट लुटिएको सामानसहित लुटपाटमा प्रयोग भएको एउटा मारुती कार पनि बरामद गरेको छ ।

दुवै अभियुक्तमाथि चोरी अपराध अन्तर्गत मुद्दामा अदालतबाट म्याद लिइ अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार १३:५०