सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोनाविरुद्ध खोप अभियान, बाँकेमा डाक्टर प्रकाशले लगाए पहिलो ‘कोभिशिल्ड’

बाँके । कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु भएको छ । सातै प्रदेशका ६२ अस्पताल र १२० केन्द्रबाट कोरोना खोप अभियान सुरु भएको छ । बाँकेमा पहिलो खोप भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले लगाएका छन् । अभियान अन्तरगत भेरी अस्पतालको केन्द्रमा आफूले पहिलो खोप लगाएको डाक्टर थापाले बताएका छन् ।

खोपका बारेमा धेरै आशंका देखिएकाले खोप सुरक्षित रहेको सन्देश दिन आफूले अस्पतामा हुने कार्यक्रममा पहिलो खोप लगाउन लागेको उनले बताए । बाँकेमा पहिलो चरणको खोप अभियान अन्तरगत पहिलो दिन आज भेरी अस्पतालका ४०० जना सूचीकृत व्यक्तिलाई खोप दिइन लागेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाँकेमा पहिलो चरणमा १ हजार ७१० भाइल खोप आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिए ।

पहिलो चरणमा चार लाख ३० हजार जनालाई खोप दिइन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिने कर्मचारी, एम्बुलेन्स चालक, सरसफाईकर्मी, अस्पतालका अन्य कर्मचारीलाई भाइरसविरुद्धको खोप दिन लागिएको हो । भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो । स्वास्थ्य मन्त्रालयले पहिलो चरणको खोप अभियान सुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्नेछ ।

यस्ता व्यक्तिले नलगाउनुहोस्

उच्च ज्वरो, रगत सम्बन्धी रोग, रगत पातलो बनाउने औषधि सेवन गरिरहका वा रोग प्रतिरक्षा शक्ति कमजोर भएका वा औषधि लिइरहेकालाई पनि यो खोप लगाइने छैन । गर्भाधारणको योजना बनाइरहेका, गर्भवती र स्तनपान गराइरहेका महिलालाई खोप नलगाउन भनिएको छ ।

यस्तै कोभिड १९ विरुद्ध अन्य खोप लगाइरहेका व्यक्ति, रक्तश्रावसम्बन्धी समस्या भएका व्यक्ति, कुनै औषधि, खोप, खानेकुरा आदिबाट कहिल्यै गम्भीर एलर्जी भएका व्यक्तिले पनि यो खोप लगाउनु हुँदैन गम्भिर प्रकृतिका विरामी क्यान्सर, मुटु रोगीले पनि यो खोप लगाउन नहुने विज्ञको भनाइ छ ।

खोपको असर

यो खोप लगाएका १० जनामध्ये १ जनालाई खोप लगाएको ठाउँमा दुख्ने, तातो अनुभव हुने, रातोपन हुने, गिर्खा हुने, बिरामी भए जस्तो अनुभव हुने, थकाइ लाग्ने, ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, जोर्नी र मांशपेशी दुख्ने तथा रुघाका लक्षण देखिने हुन सक्ने जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र पाण्डे बताउँछन् ।

यस्तै १०० मध्ये एक जनालाई रिंगटा लाग्ने, भोक नलाग्ने, पेट दुख्ने, लिम्फ नोड सुन्निने, धेरै पसिना आउने, चिलाउने, बिमिरा आउने असर पनि देखिन सक्छ । खोप लगाइसकेपछि २ देखि १४ दिनसम्म लक्षण देखिन सक्छ, ज्वरो आउने, जाडो हुने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, मांशपेशी वा शरीर दुख्ने, टाउको दुख्ने, स्वाद र गन्ध हराउने, स्वर भासिने, रुघा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पखाला हुने असर पनि देखिने गर्छ । कोरोनाविरुद्धको खोप प्रयोग गर्दा सिकिस्त वा मृत्यु हुने सम्भावना भने निकै कम छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार १२:३०