सूचनाको शक्ति - The Power Of Information

        

नेकपा विभाजन

वामदेवले घोषणा गर्दै पार्टी एकता राष्ट्रिय अभियान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको रक्षाका लागि भन्दै आज पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दैछन् । नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अलगअलग समूह बनाए पनि समूहगत विभाजन नभइ मौन बसेका गौतमले आज एकता अभियानको घोषणा गर्न लागेका हुन् ।

पार्टी एकता रक्षाका लागि नेतृत्वलाई दवाव दिने उद्देश्यले एकता अभियान घोषणा गर्न लागेको उपाध्यक्ष गौतमले बताए । पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा रहेको उल्लेख गर्दै गौतमको सचिवालयले त्यही माग र चाहनालाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान घोषणा गर्न लागिएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम–प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत् एकतावद्ध गर्ने उद्देश्य राखिएको छ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयपछि सत्तारुढ नेकपा दुईवटा चिरामा विभक्त भएको छ। गौतमले भने आफ्नो पक्षधरता प्रष्ट पारेका थिएनन् ।

निर्वाचन आयोगले टुक्रिएको नेकपालाई मान्यता नदिने निर्णय गरेपछि गौतमले एकता अभियानलाई तिब्रता दिन लागेका हुन् । आज घोषणा हुने अभियानमा पूर्वएमाले र पूर्वमाओवादीका केही नेता रहने जनाइएको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार ०९:३६