सूचनाको शक्ति - The Power Of Information

        

आफ्नो उमेरमा बिहे गर्ने नेताको यस्तो बन्यो सूची, कसकी श्रीमती कति कान्छी ?

काठमाडौं । कति बर्षको भएपछि बिहे गर्ने भन्ने कुनै सर्वमान्य सिद्धान्त छैन । आफ्नो अनुकुलताका आधारमा निर्णय लिनु नै उचित ठानिन्छ । हालै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह वन्धनमा बाँधिएका छन् । मुख्यमन्त्रीको विवाह आफैंमा हेडलाइन बन्ने विषय थियो नै । त्योभन्दा चाखलाग्दो कुरा थियो, दुलाहा र दुलहीको उमेर ।

दुलाहा ५० वर्ष छुन लागेका । दुलही भर्खर २३ वर्षकी । उमेर अन्तर २५ वर्षभन्दा बढि । सामाजिक सञ्जालमा उनीहरुलाई बधाईसँगै विभिन्न बहसहरु पनि भइरहेका छन् । कतिले मन मिलेपछि उमेर कुनै इस्यू हुँदैन भनेर स्वभाविकरुपमा लिनुपर्ने मत राखेका छन् । कतिले चाहिँ मुख्यमन्त्रीले छोरी उमेरकी केटी रोजेको भनेर कटाक्ष गरेको पनि देखिएको छ । उमेर छिप्पिएपछि विवाह गर्ने राई नेपालका पहिलो व्यक्ति भने अवश्य होइनन् ।

राजनीतिदेखि कलाकारितासम्ममा अरु नामहरु पनि छन्, जसले ४० काटेपछि मात्रै घरबार सुरु गरे । हेमन्त रानाको गीतले भनेझैं ४० कटेपछि रमाउनेहरुको सूचीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवादेखि नेपाली चलचित्रका महानायक राजेश हमालसम्म छन् । उनीहरुको जीवन सुखमयरुपमै चलिरहेको छ । ढिला विवाह गर्ने चिनिएका अनुहार कोको हुन् ?

शेरबहादुर देउवा

नेपालमा ०४६ सालमा प्रजातन्त्र स्थापना भएयता लगातार सुनिँदै आएको नाम हो शेरबहादुर देउवा । ४८ सालको संसदीय निर्वाचन जितेपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा उनी गृहमन्त्री थिए । बहालबाला गृहमन्त्री छँदा नै उनले गृहस्थि बसाएका हुन्, जतिबेला उनको उमेर ४५ वर्ष थियो । राणा खानदानकी आरजु देउवासँग शेरबहादुरले लगनगाँठो कसेका हुन् ।

उनीहरुबीच पनि उमेरको राम्रै अन्तर (करिब १५ वर्ष) छ । देउवाको विवाह हुँदाका बखत नेपालमा अहिलेजस्तो बग्रेल्ती मिडिया थिएनन् । सामाजिक सञ्जालको त कल्पना नै थिएन । तसर्थ हाइप्रोफाइलको विवाह धेरै ठूलो विषय बनेन । शेरबहादुर र आरजुको वैवाहिक जीवन सुखद छ । विवाहपछि देउवा चारपटक मुलुकको प्रधानमन्त्री बने । सम्पत्ति पनि प्रशस्तै जोडे ।

श्रीमान प्रधानमन्त्री छँदा आरजुले मज्जैले पावर एक्सरसाइज गरिन् । पछि उनी आफैं काँग्रेस राजनीतिमा आइन् । श्रीमानकै बलमा सभासद समेत बनिन् । बूढानीलकण्ठमा देउवाको भव्य निवास छ । राजा–महाराजाको जस्तो विलासी जीवनशैली छ, उनीहरुको । देउवा दम्पतीबाट एक मात्र सन्तानका रुपमा छोरा छन् ।

बलबहादुर केसी

कांग्रेसका पुराना नेता बलबहादुर केसीले पनि ढिला विहे गरेका हुन् । उनले २०६१ साल माघ १७ गते लगनगाँठो कसेका थिए । बलबहादुरले विवाह गरेको पर्सिपपल्ट नेपालमा शाही ‘कु’ भएको थियो । विवाह गर्दा बलबहादुर ५२ वर्षका थिए भने उनकी पत्नी रिना केसी ३३ वर्षकी । उनीहरुको प्रेमविवाह हो ।

रिना पनि पहिल्यैदेखि नेपाली कांग्रेसको राजनीतिमा छिन् । २०५३ सालमा उनी पद्मकन्या क्याम्पसमा स्ववियू सभापति थिइन् । अहिले महिला संघमा छिन् । बलबहादुर दम्पती हाल लाजिम्पाट क्षेत्रमा रहेको आफ्नै निवासमा बस्छन् । उनीहरुबाट कुनै सन्तान भएका छैनन् । पहिले पटक–पटक मन्त्री भएका बलबहादुर विवाहपछि भने मन्त्रीको कुर्सीमा पुग्न सकेनन् ।

उनले ७४ सालमा भएको चुनावमा उनी गृहजिल्ला सोलुखुम्बुबाट पराजित भएका थिए । त्यसअघि सोही क्षेत्रबाट उनी ७० सालमा विजयी भएका थिए । हाल उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन् । बलबहादुर विगतमा विभिन्न विवादमा पनि मुछिएका थिए । अहिले भने उनको खासै चर्चा छैन । नयाँ पुस्ताका धेरैले उनलाई चिन्दैनन् पनि ।

मिथिला शर्मा

अभिनयको बलमा दर्शकको मन जित्दै आएकी पुरानी अभिनेत्री मिथिला शर्माले आधा शताब्दी लामो अविवाहित जीवन बिताइन् । ५० वर्षको उमेरमा उनले २०७१ सालमा विवाह गरिन्, बयोवृद्ध पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहोरासँग । विवाह गर्दा मोतिलाल ७४ वर्षका थिए ।

उनीहरुबीच २४ वर्षको अन्तराल थियो । मिथिलाको त्यो पहिलो विवाह भए पनि मोतिलालको दोस्रो थियो । पहिलो पत्नीको मृत्यु भएपछि मोतिलालले लामो समयदेखि चिनजानमा रहेकी मिथिलालाई जीवनसाथी बनाएका थिए । उनीहरुले कोर्ट म्यारिज गरेका हुन् । अदालती बिहेपछि मोतिलाल र मिथिलाले परिवार, आफन्त र निकटस्थहरुलाई एउटा रेस्टुरेन्टमा पार्टी दिएका थिए ।

शर्माले लामो समयसम्म नृत्यांगना र निर्देशक भएर नेपाल पुलिस क्लबमा काम गरेकी थिइन् । पछिल्लो समय उनी एउटा डान्सिङ रियालिटी शोमा निर्णायकको रुपमा देखिएकी थिइन् । मोतिलाल भने रिटायर्ड लाइफमा छन् ।

मोहनचन्द्र अधिकारी

नेपालका नेल्सन मण्डेलाको उपमा पाएका पुराना कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारीले ५३ वर्षको उमेरमा विवाह गरेका थिए । उनले २०४७ साल माघमा आफूभन्दा २५ वर्ष कान्छी बालकुमारी खनालसँग जनवादी विवाह गरेका हुन् । विसं १९९४ मा जन्मेका मोहनचन्द्र ०२८ सालमा भएको झापा विद्रोहका प्रमुख योद्धा थिए ।

झापा विद्रोहकै बखत पञ्चायत सुरक्षाकर्मीले पक्राउ गरेपछि ०३० सालमा जेल परेका उनले १७ वर्ष जेलजीवन बिताए । जेलजीवन बिताउने क्रममा उनको भेट शिक्षक आन्दोलनबाट पक्राउ परेर एक महिना भैरहवा जेल बसेकी बालकुमारीसँग भेट भएको भयो । त्यसपछि आफन्तहरूको प्रस्तावमा उनीहरूको विवाह भएको थियो ।

राजेश हमाल

अभिनेता राजेश हमालले चलचित्र क्षेत्रमा प्रवेश भएयता सबैभन्दा बढी सामना गरेको प्रश्न हो, ‘विवाह कहिले गर्ने ?’ उत्तर दिँदा दिँदा उनी थाकिसकेका थिए । अन्ततः उनले यो प्रश्नलाई सदाको लागि टुंग्याइदिए, ०७१ साल माघमा । उमेरले अद्र्धशतक प्रहार गरिसकेपछि राजेश आफूभन्दा आधा उमेरकी मधु भट्टराईसँग विवाह वन्धनमा बाँधिएका हुन् । राजेश र मधु प्रेम सम्वन्धमा थिए ।

मधु राजेशभन्दा २२ वर्षले कान्छी छन् । राजेश गत जेठबाट ५६ वर्षमा लागे । विवाह गरेको ६ वर्ष पुगिसक्दा पनि उनीहरूले सन्तान जन्माएका छैनन् । बिहेपछि राजेश र मधुको जीवन उल्लासमय रुपमा बितिरहेको छ । राजेश पछिल्लो समय चलचित्रमा खासै सक्रिय छैनन् । मधु पनि घरव्यवहारमै व्यस्त छिन् । अहिले राजेश हमाललाई सबैभन्दा सोधिने प्रश्न हो, सन्तान कहिले जन्माउने ?

प्रदिप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडलले ४१ वर्षका उमेरमा विहे गरेका थिए । २०७३ साल वैशाख १५ गते उनले सर्लाहीकी एन्जिला न्यौपानेसँग लगनगाँठो कसेका थिए । न्यौपाने त्यतिबेला नेविसंघको केन्द्रीय सदस्य थिइन् । उनीहरूको प्रेम विवाह भएको हो । एन्जिला र प्रदीपको उमेरमा ११ वर्षको अन्तराल छ ।

उनीहरूका छोरा र छोरी गरी दुई सन्तान छन् । छोरी मन्टेश्वरी जान थालेकी छन् । आफ्नो विवाहका विषयमा प्रदीप भन्छन्, ‘हाम्रो समाजमा विवाह गर्न ढिला भयो भने विभिन्न टिका–टिप्पणी हुन्छन् । मलाई पनि विवाहका लागि आफन्त र परिवारबाट दबाब आइरहन्थ्यो । विवाहपछि पनि टिप्पणीहरू आइरहे । अहिले हाम्रो दाम्प्त्य जीवन सुखद् छ । दुवै जना खुसी छौं ।’

ऋषि धमला

ऋषि धमला अत्यधिक बेफुर्सदी पत्रकार मानिन्छन् । फुर्सद कम भएकैले होला उनले विवाह गर्न पनि ढिला गरे । ०३२ सालमा धादिङमा जन्मिएका धमलाको विवाह २०७१ सालमा भएको थियो । उनकी पत्नी एलिजा गौतम २०५० सालमा जन्मिएकी हुन् । ऋषि र एलिजाबीच १८ वर्षको अन्तर छ । उमेरको अन्तरालले धमलाको वैवाहिक जीवन रंगीन बनाउन रोकेको छैन ।

श्रीमतीलाई निकै माया गर्ने ऋषिले उनको नायिका बन्ने इच्छा पूरा गरिदिन चलचित्र निर्माणसमेत गरेका थिए । उनले निर्माण गरेको चलचित्र अनुराग फ्लप भए पनि कलाकारितामा एलिजाको ढोका खुल्यो । अहिले उनी म्युजिक भिडियोहरुमा सक्रिय छिन् । ऋषि र एलिजाका एक छोरी र एक छोरा छन् ।

शेरधन राई

उमेरले आधा शताब्दी टेक्न लागेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई २०७७ माघ ११ गतेमात्रै विवाह बन्धनमा बाँधिएका छन् । ४९ वर्षीया राईले २६ वर्ष कान्छी जाङ्मु शेर्पालाई दुलही बनाएका हुन् । २३ वर्षिया जाङ्मु सन् २०१८ कि मिस मंगोल हुन् ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार ०८:०३