सूचनाको शक्ति - The Power Of Information

        

अपराध

बाँकेमा मौलाउँदै गोरु तस्करी, तीन वटा गोरुसहित ट्रक नियन्त्रणमा

आइतबार राती बाँकेको राप्तीसोनारी गाउँपालिका–१, कुसुमबाट नियन्त्रणमा लिइएका गोरु ।

बाँके । बाँकेमा गोरु तस्करी मौलाउँदै गएको छ । आइतबार राती बाँकेको राप्तीसोनारी गाउँपालिका–१, कुसुमबाट एउटा ट्रकसहित गोरु नियन्त्रणमा लिएपछि गोरु तस्करीको धन्दा मौलाएको खुलेको हो । ट्रकमा लोड गर्ने तयारी गरिरहेका बेला प्रहरीले तीन वटा गोरुसहित ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) सुभाष खड्काका अनुसार ना ५ ख १००३ नम्बरको ट्रकसहित तीन वटा गोरु नियन्त्रणमा लिइएको हो । ट्रक चालक भने भागेको डिएसपी खड्काले बताए । उक्त ट्रक र गोरु लिलाम बिक्रीका लागि सोमबार नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

आइतबार राती बाँकेको राप्तीसोनारी गाउँपालिका–१, कुसुमबाट नियन्त्रणमा लिइएको ट्रक ।

बाँकेमा गोरु तस्करहरु रातारात सक्रिय हुँदै आए पनि प्रहरीले गोरु तस्करी रोक्न प्रभावकारी भूमिका खेल्न नसकेको बाँकेबासीको गुनासो छ । गाई पालेर दूध खान, बेच्न र मासु प्रयोजनका लागिबाहेक अन्य प्रयोजनका लागि नेपालभित्रै गाईगोरु ओसारपसार गर्न कानुनले छुट दिएको छ । तर यही कानुनको फाइदा उठाउँदै तस्करहरु गिरोहले गोरु तस्करी गर्दै आएको छ ।

मासु प्रयोजनको लागि भारतबाट नेपाल हुँदै बंगलादेशतर्फ मासु प्रयोजनका लागि गोरुको लामो समयदेखि अवैधरुपमा निकासी हुँदै आएको छ । भारतमा गोरु ओसारपसार गर्न नपाइने कानुनी व्यवस्था भएकोले पेशेवर तस्करहरुले नेपाली भूमि प्रयोग गरी पुनः भारतको पश्चिम बङ्गाल पुर्याउने गरेका छन् ।

जानकारहरूका अनुसार त्यहाँबाट ती गोरु मासु प्रयोजनका लागि पाकिस्तान, भुटान तथा बंगलादेशसम्म निर्यात हुने गरेको बताउँछन् । कृषि प्रयोजनको नाममा गोरु मासुको लागि तस्करी हुने गर्छ । नेपालभित्रै ओसारपसार गर्न भन्दै गिरोहले सेटिङ्ग गरेर पशु क्वारेन्टाइन लगायत कागजात तयार गरी अवैध धन्दा गर्ने गरेका छन् ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार १२:३५