सूचनाको शक्ति - The Power Of Information

        

पिएम कपमा समूह चरणका अन्तिम खेल जारी

काठमाडौं । प्रधानमन्त्री (पिएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् ।

समूह ‘ए’ मा रहेका दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबबीच कीर्तिपुरस्थित मैदानमा खेल भइरहेको छ । यस्तै समूह ‘बी’ मा रहेका नेपाल पुलिस क्लब र प्रदेश–२ बीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

समूह ‘ए’ बाट एपीएफ र आर्मी यसअघि नै लगातार तीन खेल जित्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । त्यसैले आजको खेल समूह विजेता बन्नको लागि निर्णायक हुनेछ । एपीएफले र आर्मीले समूह चरणमा गण्डकी, कर्णाली र प्रदेश–१ लाई पराजित गरेको थियो ।

यस समूहको विजेताले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ । यस्तै समूह उपविजेताले भने समूह ‘बी’ को विजेता बनिसकेको बागमती प्रदेशसँग खेल्नेछ । यता समूह ‘बी’ बाट बागमति प्रदेश ४ खेलबाट ७ अंक जोड्दै समूह विजेताको रुपमा सेमिफाइनल पुगिसकेको छ ।

त्यसैले पुलिस र प्रदेश–२ बीचको खेलबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । पहिलो खेलमै बागमतिसँग पराजित भएको पुलिसले सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई पराजित गर्दै ३ खेलबाट ४ अंक जोडेको छ ।

त्यसैगरी ४ वटै खेल खेलिसकेको लुम्बिनी प्रदेश ५ अंकसहित समूह ‘बी’ मा दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार ११:३८