सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा नक्कली स्मार्ट लाइसेन्सको धन्दा

फोटोकपी सेन्टरमै स्मार्ट लाइसेन्स !

बाँके । कागजी सवारी चालक अनुमति पत्र (लाइसेन्स)लाई विस्थापित गर्दै यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सको व्यवस्था लागु गरेको छ । नक्कली सवारी चालक अनुमति पत्रको बिगबिगी हटाउन पनि विभागले स्मार्ट लाइसेन्स प्रयोगमा ल्यायो । कम्प्युटराइज्ड प्रवधिसहितको यो लाइसेन्स लागू गरेपछि ट्राफिक नियमनमा सहज हुने सरकारले विश्वास लिएको थियो ।

तर, अहिले यही स्मार्ट लाइसेन्स पनि नक्कली बन्न थालेपछि ट्राफिक प्रहरीका लागि टाउको दुःखाई बनेको छ । कारण, ट्राफिक प्रहरीसँग स्मार्ट लाइसेन्स सक्कली हो वा नक्कली छुट्याउने मेसिन नै छैन । पछिल्लो समय स्मार्ट लाइसेन्स पनि नक्कली बन्न थालेको पाइएको छ । ट्राफिक प्रहरीसँग आवश्यक प्रविधि नहुँदा स्मार्ट लाइसेन्स जाँचमा समस्या भइरहेको छ ।

‘स्मार्ट लाइसेन्सको नयाँ प्रविधि भित्रिएपछि त्यो लाइसेन्स जाँच गर्ने प्रविधि ट्राफिक प्रहरीसँग छैन । नाङ्गो आँखाले सक्कली र नक्कली छुट्याउनै गाह्रो छ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख एवं प्रहरी निरीक्षक राजु भण्डारीले भने । स्मार्ट लाइसेन्स भित्र्याउने निर्णयसँगै ट्राफिक प्रहरीलाई पनि त्यो जाँच गर्नका लागि छुट्टै मेसिन प्रदान गरिने बताइएको थियो ।

तर, दुई वर्ष बितिसक्दा पनि ट्राफिक प्रहरीसँग उक्त मेसिन आइपुगेको छैन । मेसिनको अभावमा प्रहरीलाई लाइसेन्स जाँच गर्न असहज हुँदा यसको फाइदा नक्कली लाइसेन्स बनाउने गिरोहले उठाइरहेका छन् । प्रविधिविहीन प्रहरी स्मार्ट लाइसेन्स जाँचमा निरिह बन्नुपर्दा नक्कली लाइसेन्स बनाउने गिरोह यतिबेला सक्रिय बनेको छ ।

सार्वजनिक यातायातजस्तो संवेदनशील सवारीमा नक्कली लाइसेन्सधारीहरुले सवारी चलाएको पाउनु निकै गम्भीर विषय भएको यातायात क्षेत्रका जानकारहरुको भनाई छ । लाइसेन्स स्मार्ट बन्यो, तर परीक्षण गर्ने प्रणाली स्मार्ट हुन सकेन । प्रहरीले समातेका नक्कली स्मार्ट लाइसेन्स शंकाका आधारमा मात्रै समातिएका हुन् ।

बाँकेमै स्मार्ट लाइसेन्स

बाँकेको नक्कली स्मार्ट लाइसेन्स बनाउने गिरोह सक्रिय रहेको खुलेको छ । नेपालगन्जको सदरलाइनस्थित पुरानो टाङ्गा स्टेसनको छेउमा रहेको फेवा फोटोकपी तथा मोबाइल रिपेयरिङ सेन्टरमा नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र बनाएर बिक्री गर्ने एक पसलेसहितको गिरोहलाई प्रहरीले पक्राउ गरेपछि उक्त गिरोह सक्रिय रहेको खुलेको हो ।

प्रहरीले उक्त पसलमा छापा मारेर पसल सञ्चालक ओमप्रकाश वैश्यसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार वैश्यले नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र बनाएर प्रतिलाइसेन्स पाँच हजारदेखि १० हजार रुपैयाँ लिएर बिक्री गर्ने गरेको सूचना पाएपछि पसल सञ्चालकलाई पक्राउ गरिएको हो ।

नेपालगन्जमा ट्राफिक प्रहरीले मोटरसाइकलको कागजपत्र चेकजाँच गर्ने क्रममा फेला पारेको नक्कली स्मार्ट अनुमति पत्रको खोजबिन गर्दा उक्त लाइसेन्स फेवा फोटोकपी पसलबाट किनेको खुलेपछि प्रहरीले छापा मारेर अनुसन्धान सुरु गरेको थियो । तर, त्यो स्मार्ट लाइसेन्स कुनै प्रविधिले जाँच गरेर होइन, प्रहरीले आफ्नै अनुभवका आधारमा फेला पारेको हो ।

सो घटनाबारे गहिरिएर थप अनुसन्धान भइरहेको जनाउँदै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास खड्काले भने, ‘फोटोकपी सेन्टरमै स्मार्ट लाइसेन्स बन्दो रहेछ ।’ उनका अनुसार उक्त पसलबाट शङ्कास्पद कागजपत्र समेत बरामद भएको र पक्राउ परेको नक्कली लाइसेन्सको पनि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार १०:००