काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहले गरेको पदाधिकारी फेरबदललाई मान्यता नदिने भएको छ । आज बसेको आयोगको पदाधिकारी बैठकले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले गरेको फेरबदललाई नमान्ने निर्णय गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार नेकपाको विधान र पदाधिकारी फेरबदल आपसमा नमिलेकाले आयोगले पहिलेकै पार्टी यथावतै रहेने निर्णय गरेको हो । ‘साबिकको निर्णयलाई कायम गर्ने निर्णय भएको छ । पछिल्लो चरणमा भएको परिवर्तन हेरफेरलाई आयोगले मानेन । केपी ओलीलाई कारबाही गरेको पनि आयोगले मानेन । माधव नेपाललाई अध्यक्ष बनाएको पनि मानेन्,’ आयोगले भन्यो ।
दल दर्ताका बखत् केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको पार्टीलाई विभाजन हुन आयोगले रोकेको हो । ‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को ऐन २५ को ५ र ६, नेकपाको अन्तरिम विधान २०७५ र संविधानको धारा २६९ बमोजिम निर्णय भयो,’ आयोगका ती उच्च अधिकारीले भने ।
ती उच्च अधिकारीका अनुसार निर्णयबारे ओली र प्रचण्डलाई सोमबार पत्र पठाइनेछ । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएसँगै नेकपा राजनीतिक रुपमा विभाजित छ । त्यसयता पार्टीका दुई अध्यक्ष ओली तथा दाहालले अलगअलग समूह बनाएर एकले अर्कालाई कारबाही गरेका छन् । उक्त निर्णयबारे आयोगलाई जानकारीसमेत गराएका थिए ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई प्रचण्ड–नेपाल पक्षले अनुशासनको कारबाही गर्दै साधारण सदस्यबाटै हटाएको छ । ओलीको स्थानमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाइएको छ । दुवै पक्षले नेकपाका ४४१ केन्द्रीय सदस्यमध्ये दुईतिहाइको साथ आफूहरूसँग रहेको दाबी गर्दै आएका छन् ।
।