बाँके । आन्तरिक पर्यटकको प्रमुख रोजाइमा रहेको राराको प्रवेशद्वार ताल्चा विमानस्थलमा सुविधा सम्पन्न होटल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । १० रोपनी जग्गामा फैलिएको ‘रारा ट्राभल होम’ मुगु जिल्लाकै सुविधा सम्पन्न होटल हुने होटल सञ्चालक राजु कार्कीले दाबी गरे ।
सञ्चालक कार्कीले लक्ष्य ५० ओटा कोठा सञ्चालन गर्ने भए पनि अहिले २५ वटा कोठा सञ्चालनको अन्तिम तयारी गरेको बताए । होटलका कोठाबाट चुचेमारा, छाँयानाथ, कान्जिरोवा र चङ्खेली हिमाल अवलोकन गर्नसमेत सकिने गरी डिजाइन गरिएको सञ्चालक कार्कीले बताए । जग्गासहित ५ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न हुन लागेको रारा ट्राभल होम होटल वरिपरि कृषि फर्म पनि रहने उनले जानकारी दिए ।
उनले भने, ‘होटल वरिपरि स्याउ, चुलेआरु, नास्पाती लगायत मुगु जिल्लामा उत्पादन हुने अन्नबालीसमेत खेती गर्ने योजना छ ।’ ग्राहकको रुची अनुसार केही सिमेन्टबाट बनेका, केही ढुंगाबाट बनेका र केही काठबाट बनेका घरहरु बनाइएको उनले बताए । रारा आउँदा खान बस्न त्यति सहज नभएको भन्ने विगतको गुनासोलाई मध्यनजर गर्दै होटलमा २४ सैं घण्टा तातो पानीसहित सम्पूर्ण सुविधायुक्त होटल निर्माण गरिएको कार्कीको दाबी छ ।
।