सूचनाको शक्ति - The Power Of Information

        

बन्दुक बोक्दा बिचल्ली

घरबारविहीन जनयुद्धकी अलपत्र महिला छापामार, ‘न घर, न बाँस’

बर्दिया । हुम्ला घर बताउने उषा थापा केही दिनअघि घरबारविहीन अवस्थामा बर्दियामा भेटिइन् । हुम्ला दारमामा २०४४ सालमा जन्मेकी उषा थापा (एकता) २०५७ सालमा तत्कालीन माओवादी आन्दोलनको कलाकारमा भर्ना भइन् । केही समयपछि इस्क्याट, महिला पाल्टुन, हुँदै महिला छापामार बनिन् । विभिन्न युद्ध मोर्चाका लड्दै आफूले बन्दुक बोक्दै हिँडेको ताजा स्मरण छ उनमा ।

त्यसबेला चर्चित गणेशपुर भिडन्तको लडाइमा युद्ध मैदानमा युद्ध लडेकी उनी भाग्ने क्रममा भूगोलको अनविज्ञताका कारण भारत लागिन् । भारतबाट फर्कने क्रममा बर्दिया महम्मदपुरकै एक पुरुषसँग उनले विवाह गरिन् । तर केहीदिनमै उनले घरका सबैबाट दुर्व्यवहार भोग्न बाध्य हुनुपर्यो । घरमा बस्न नसकी नेपालगन्जतिर निजी कम्पनीमा जागिर खान पुगिन् । पछि पुनः दोस्रो विवाह गरी डेउढाकलामा बस्दै आइन् ।

बिचल्लीमा परेपछि कष्टकर भोगाइ

न घर, न बाँस । अत्यन्तै कष्टकर जीवन गुजारेकी उनलाई बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष दीपाकुमारी गौतम, ९ नम्बर वडा अध्यक्ष कान्छु थारू, कार्यपालिका सदस्य जितबहादुर सुनार, स्थानीय शिक्षक हितराज सुवेदीसहितको पहलमा वडा नम्बर–९ टेसनपुरको पर्ती जग्गामा अहिलेलाई अस्थायी बासको व्यवस्थापन गरिएको छ । कुनै रोजगारी नभएको र ज्याला मजदुरी गरी दिन गुजारिरहेको उनी बताउँछिन् ।

उनका चार सन्तान छन् । सबै चिसो भुइँमा सुत्छन् । केही दाता र सहयोगीका भरमा सानो झुप्रो बनाए पनि बस्ने खाट, ओछ्याउन अनि कपडा, खाद्यान्न सबै अभाव भइरहेको उनले दुःख पोखिन् । आफूले जनयुद्धकालमा विभिन्न कमाण्डर र नेतासँगै काम गरे पनि आज आफ्नो यस्तो अवस्था हुँदा कसैले सहयोग नगरेको गुनासो गरिन् । १४ वर्षको कलिलो उमेरमै उनले घर छाडेकी थिइन् । अहिलेसम्म आफ्नो माइती गाउँ हुम्ला पुग्न सकेकी छैनन् उषा ।

घर निर्माणका लागि साढे ४ लाख रुपैयाँ संकलन

अलपत्र बनिरहेकी उनको घर निर्माणका लागि विभिन्न क्षेत्रबाट सहयोगी हात बढेका छन् । घरबारविहीन अवस्थामा बालबच्चासहित उनी फेला परेपछि सिटिजन बैंकका म्यानेजर दिनेश ढुंगानाले आफैं उनको टहरामा पुगेर बैंक खाता खोलिदिएका थिए । अहिले उनको नाममा बैंक खातामा ४ लाख ५५ हजार रुपैयाँ रकम जम्मा भएको छ । उषा थापाको घर बनाउने अभियान माघ ७ गतेबाट औपचारिकरुपमा सुरु गरिएको बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजुर्न सुवेदीले जानकारी दिए ।

घर निर्माणका लागि बढैयाताल गाउँपालिकाले जग्गाको व्यवस्थापन गरेको र आवास योजनाबाट ५० हजार रुपैयाँजस्ता पाता खरिदका लागि सहयोग गर्ने उनले बताए । उनका सबै बालबच्चालाई उच्च शिक्षासम्म निःशुल्क पठनपाठनको जिम्मा बर्दियाको मधुवन नगरपालिका नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णचन्द्र पोखरेलले लिएको यसअघि नै बताइसकेका छन् । उषाको घर निर्माण अभियानमा पछिल्लो समय भने केही दाताहरूले सहयोग गरिरहेका छन् ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार ०८:५७