सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा घट्दै कोरोना संक्रमित

फाइल तस्बीर

बाँके । एकपटक कोरोना सङ्क्रमित व्यक्तिको ‘हटस्पट’ बनेको बाँके जिल्ला बिस्तारै कोरोनामुक्त जिल्लातर्फ उन्मुख हुँदैछ । जिल्लामा कोरोना सङ्क्रमित हुने सङ्ख्या घटेसँगै निको हुनेको दर पनि वृद्धि भएको छ । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा रहेको कोभिड–१९ विशेष आइसोलेसन अस्पतालमा २९ जना कोरोना सङ्क्रमित मात्र निको हुन बाँकी छन् ।

सङ्क्रमितको सङ्ख्या घट्दै गएपछि नेपालगन्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेको कोभिड वार्ड तत्कालका लागि बन्द गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले अहिले भेरी विशेष कोभिड अस्पतालमा २९ जना मात्र सङ्क्रमित भर्ना रहेकोमा २० जनाको अवस्था चिन्ताजनक रहेको बताए ।

उनले सङ्क्रमित घट्दै गएपछि कोहलपुरको कोभिड वार्डलाई अस्थायी रूपमा बन्द गरिएको बताए । भेरीको कोभिड विशेष अस्पतालमा पुगेर सङ्क्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि प्रतिक्रिया दिँदै प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले अस्पतालमा रहेका सङ्क्रमितको उपचारमा कुनै पनि कमी नदेखिएको बताए ।

उनले नौ जना सङ्क्रमितको अवस्था सामान्य रहेकोले उनीहरूलाई छिट्टै घर पठाइने र सिकिस्त रहेकाहरूको सबै विधि अपनाएर उपचारमा कमी हुन नदिने जनाए । यसअघि चिसो मौसममा सङ्क्रमित बढ्ने अनुमान गरिए पनि बाँकेमा भने कोरोना सङ्क्रमितको सङ्ख्या दिनदिनै घट्दै गएको छ । कोरोना सङ्क्रमितहरू निको भएर घर फर्किने क्रम तीव्र भएको र नयाँ थपिने क्रम पनि घटेको छ ।

हालसम्म बाँकेमा निको हुने सङ्क्रमितको सङ्ख्या ४ हजार ४४० जना पुगेको कोरोना फोकल पर्सन तेज ओलीले बताए । हालसम्म बाँके जिल्लामा ४४ हजारको पीसीआर परीक्षण गरिएकोमा चार हजार ५७७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । जसमध्ये चार हजार ४४० जना निको भएर घर फर्किसकेको छन् । हालसम्म बाँकेमा कोरोना सङ्क्रमणबाट १६ महिला र २५ पुरुष गरी ५१ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार ०८:३२