सूचनाको शक्ति - The Power Of Information

        

अर्काको नाममा रहेको सिमकार्ड यसरी गर्नुहोस् आफ्नो नाममा नामसारी

काठमाडौं । सरकारले नागरिकको पहिचान खुल्नेगरी राष्ट्रिय परिचय पत्र वितरण गर्ने तयारी गरिरहेको छ । यसअन्तर्गत सबै सेवा एक स्थानबाट लिन सकिने गरी नागरिक एप निर्माणको काम सम्पन्न भएर परीक्षणको क्रममा रहेको छ ।

राष्ट्रिय परिचय पत्र र नागरिक एप दुवैलाई व्यक्तिको सिमकार्डसँग जोडेर ल्याउने सरकारको तयारी छ । यसरी सिमकार्डसँग तपाईंको धेरै कुरा जोडिने भएकाले पनि आफूले प्रयोग गर्ने सिमकार्ड आफ्नै नाममा बनाउनु पर्ने वाध्यता भएको छ ।

अर्कोतर्फ नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण पनि एक जना व्यक्तिको नाममा एउटै सेवा प्रदायकका दुईभन्दा बढी सिमकार्ड राख्न नपाउने व्यवस्था गरेको छ । त्योभन्दा पनि महत्वपूर्ण कुरा तपाईंको सिमकार्ड तपाईंको बैंकिङ कारोबारदेखि अन्य विभिन्न प्रयोजनमा समेत उपयोग हुने भएकाले पनि सुरक्षाको हिसाबले सिमकार्ड आफ्नै नाममा हुन जरुरी छ ।

त्यसैले यहाँ हामी तपाईंलाई अन्य व्यक्तिको नाममा रहेको तर, तपाईंले लामो समय देखी प्रयोग गर्दै आउनु भएको सिमकार्ड आफ्नो नाममा नामसारी गर्ने तरिका सिकाउँदै छौं । यो प्रक्रिया सेवा प्रदायक अनुसार केही फरक हुने भएकाले सेवा प्रदायक अनुसार नै तपाईंले आवश्यक प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ ।

नेपाल टेलिकम

यदि तपाईं नेपाल टेलिकमको सिम प्रयोगकर्ता हो र तपाईं अरु कसैको नाममा रहेको सिमकार्ड प्रयोग गरिरहनु भएको छ भने अब सिमकार्ड आफ्नो नाममा नामसारी गर्नुपर्ने अवस्था आएको छ । त्यसकालागि सुरूमा सिमकार्ड कसको नाममा छ पत्ता लगाउन आवश्यक छ ।

त्यति गरेर तपाईं टेलिकमको कार्यालय भने अनिवार्य रुपमा पुग्नुपर्नेछ । टेलिकमले प्रिपेड र पोस्टपेड गरी दुई फरक सिमकार्ड उपलब्ध गराउँदै आएकाले सिमकार्ड नामसारीको प्रक्रिया पनि सिम अनुसार फरक नै रहेको छ ।

प्रिपेड

टेलिकमका अनुसार यदि प्रिपेड प्रयोगकर्ताले अन्य व्यक्तिको नाममा रहेको सिमकार्ड आफ्नो नाममा परिवर्तन गर्नुपरेको खण्डमा लामो समयदेखि उक्त सिमकार्ड आफैले प्रयोग गरिरहेको हुनुपर्छ । यदि त्यसो भएको खण्डमा तपाईं सक्कली नागरिकताको साथमा एक प्रति नागरिकताको फोटोकपी र एक प्रति फोटो लिएर कार्यालयमा पुग्नुपर्ने हुन्छ ।

त्यहाँ तपाईंले कबुलियत नामको एउटा फर्म भनुपर्ने हुन्छ । त्यस्तै विगत ६ महिनाभित्र उक्त सिमकार्ड बाट कल गर्नुभएको ५–७ ओटा नम्बर भेरिफाइ गर्नुपर्ने हुन्छ । यति गरेर तपाईंले अर्को व्यक्तिको नाममा रहेको सिमकार्ड आफ्नो नाममा परिवर्तन गर्न सक्नुहुन्छ । यसका लागि ५० रुपैयाँ शुल्क लाग्नेछ ।

पोस्टपेड

पोस्टपेडको हकमा भने नामसारीको प्रक्रिया केही झन्झटिलो रहेको छ । त्यसका लागि सिमकार्ड लिने र सिमकार्डमा नाम भएका दुवै व्यक्ति कार्यलयमा उपस्थिति हुनुपर्नेछ । यदि सिमकार्डमा नाम भएको व्यक्ति उपस्थिति हुन नसकेको खण्डमा उक्त व्यक्तिको वारिसनामा सहित कार्यालयमा पुग्नुपर्नेछ ।

त्यतिमात्रै नभएर साथमा लिने व्यक्तिको सक्कली नागरिकता सहित फोटो कपी र सिमकार्डमा नाम भएको व्यक्तिको नागरिकताको फोटोकपी अनिवार्य छ भने, लिने व्यक्तिको एक प्रति फोटो पनि आवश्यक पर्नेछ । यदि संस्थाको हकमा भएको खण्डमा दुवै संस्थाको प्यान नम्बर तथा दर्ताको कागजात आवश्यक पर्नेछ । यी कागजपत्र लिएर कार्यालय पुगी त्यहाँ तपाईंले एउटा फर्म भर्नुपर्ने हुन्छ । उक्त फर्म भरी ५६५ रुपैंया तिरेर तपाईंले सिमकार्ड आफ्नो नाममा सार्न सक्नुहुनेछ ।

एनसेल

यदि तपाईं एनसेलको सिम प्रयोगकर्ता हो र तपाईं अरु कसैको नाममा रहेको सिमकार्ड प्रयोग गरिरहनु भएको छ भने एनसेलको कार्यालयमा सिमकार्ड लिने र दिने दुवै व्यक्तिको उपस्थिति अनिवार्य छ । साथै नामसारी गर्नुपर्ने व्यक्तिको नागरिकता, फोटो साथमा हुनुपर्नेछ । यदि सिमकार्डमा नाम भएको व्यक्ति उपस्थिति नभएको खण्डमा उक्त व्यक्तिको वारिसनामा आवश्यक छ ।

तर, त्यसका लागि तपाईंले उक्त सिमकार्ड विगत एक वर्षदेखि प्रयोग गरेको हुनुपर्छ । पछिल्लो ६ देखी ८ महिनाअघि डायल गरेका १० देखि १५ वटा नम्बर उपलब्ध गराउनुपर्नेछ । उक्त नम्बरमा भएको कल डिटेल हेरी कार्यालयले भेरिफाइ गर्नेछ । साथै सम्भव भएको खण्डमा सिमकार्ड किन्दा उपलब्ध हुने पिन र पुक कार्ड नम्बर समेत उपलब्ध गराउनु पर्नेछ । यति भएको खण्डमा सिमकार्ड नामसारी हुनेछ ।

स्मार्टसेल

यदि तपाईं स्मार्टसेलको सिम प्रयोगकर्ता हो र तपाईं अरु कसैको नाममा रहेको सिमकार्ड प्रयोग गरिरहनु भएको छ भने अन्य अन्य सेवा प्रदायकमा जस्तै स्मार्टमा पनि त्यही नै प्रक्रिया छ । त्यसका लागि तपार्ईं स्मार्टको कुनै पनि सेन्टरमा पुग्नुपर्छ । साथमा सिमकार्डमा नाम भएको व्यक्ति र सिमकार्ड लिने व्यक्ति दुबै उपस्थिति हुनुपर्छ ।

सिमकार्डमा नाम भएको व्यक्ति उपस्थिति हुन नसकेको खण्डमा उसको वारिसनामा, उक्त व्यक्तिको नागरिकताको फोटोकपी भने आवश्यक छ । सिमकार्ड लिने व्यक्तिको हकमा उसको सक्कली नागरिकता, नागरिकताको एक प्रति फोटोकपी र एउटा फोटो आवश्यक पर्छ । यति भएसँगै तपाईंले कार्यालयमा गएर त्यहाँ रहेको एउटा फर्म भरी आफूले सिमकार्ड प्रयोग गरिरहेको तथ्य खुलाई एउटा निवेदन बुझाउनु पर्नेछ । यति गरेको खण्डमा तपाईंले प्रयोग गरिरहेको सिमकार्ड तपाईंकै नाममा आउने छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार ०९:५९