सूचनाको शक्ति - The Power Of Information

        

अपराध

१० महिनामा ११ सय ८४ महिला हिंसाका घटना

सांकेतिक तस्वीर

काठमाडौं । शिक्षित समाज भयो भने मानवले मानवलाई गर्ने हिंसात्मक घटना कम हुन्छ, भनिन्छ । तर हाम्रो समाजमा हिंसात्मक घटनाहरु घट्न सकेको छैन । गत २४ मार्च २०२० देखि ९ जनवरी २०२१ सम्म महिला हिंसाका १ हजार १८४ वटा घटनाहरु दर्ता भएका छन् भने हिंसा भयो भनेर ७ हजार ८१६ जनाले फोन गरेका छन् ।

हाम्रो समाजमा डाक्टर, शिक्षिका आदि महिलाहरु पनि हिंसाको शिकार भएको बताउने राष्ट्रिय महिला आयोगकी प्रवक्ता मीरा शेरचन भन्छिन्, ‘महिला सशक्त नभइसकेपछि हिंसा हुन्छ । क्षमतावान जोसँग हुन्छ उसले क्षमताविहीनलाई आफ्नो शक्ति प्रदर्शन गर्ने हो, त्यसैले शिक्षाको साथसाथै हाम्रो पितृसत्तात्मक समाजलाई बदल्नु पर्छ । महिलाको आर्थिक पाटो राम्रो भएर मात्र पनि हुँदैन त्यसलाई खर्च गर्नसक्ने क्षमता, शक्ति पनि हुनुपर्छ ।’

औपचारिक शिक्षा मात्रै नभएर अनौपचारिक शिक्षाको साथसाथै आफू सशक्त भएमात्र हिंसा कम हुने बताउने प्रवक्ता शेरचन हिंसाविरुद्ध बनेको कानुनसम्बन्धी शिक्षित वर्गलाई समेत राम्रोसँग थाहा नभएको गुनासो गर्छिन् । उनका अनुसार अहिले विशेष गरी शहरी क्षेत्रमा स्कुल कलेज पढ्ने बच्चाहरु लिभिङ टुगेदरमा बस्ने गरेकाले पनि महिला हिंसा बढिरहेको छ ।

चोटपटक लागेका पीडित महिलालाई देख्दा महिला भएकै कारणले यस्तो समस्या झेल्नुपरेको भनेर एकदमै दुःख लाग्ने गरेको बताउने प्रवक्ता शेरचन प्रत्येक परिवारका बुबाआमाले आफ्नो बच्चाको राम्रोसँग ख्याल गर्ने, परिवारबाटै छोरीलाई काममा प्रोत्साहित गर्ने, घरभित्रसम्म पुग्ने खालका सचेतानामूलक कार्यक्रमहरु गर्ने, विभिन्न पत्रपत्रिका, मिडिया आदिबाट अपराध गरेमा यतिसम्मको सजाय भोग्नुपर्छ भन्ने खालको डरत्रासमूलक जानकारी दिने गरेमा महिला हिंसा केही हदसम्म कम हुने बताउँछिन् ।

विभिन्न आरोप लगाएर कुटपिट गर्ने, घरबाट निकाला गर्ने लगायतका महिलाप्रति हुने अमानवीय व्यवहार सामाजिक, आर्थिक, राजनीतिक रुपमा महिलाहरुको सशक्तिकरण भएमात्र केही हदसम्म निवारण हुने बताउने राष्ट्रिय महिला आयोगकी, महिला विकास अधिकृत ममता बिष्टले महिला पुरुषमा जबसम्म समानता भन्ने भाव आउँदैन तबसम्म महिला हिंसा कम नहुने बताइन् ।

महिला सहनशील र कमजोर भएर नै महिला हिंसा भएको बताउने बिष्टले भनिन्, ‘अझै पनि दूरदराजमा महिलाको अवस्था दयनीय नै छ । बोक्सीको आरोप पनि धेरै महिलालाई मात्र लगाइन्छ जुन महिला कमजोर र सहनशीलता भएर भएको हो । घरबाहिर ननिस्कने, परिवारको बेइजत होला भन्ने डर, पिर महिलामा हुन्छ ।’ तराईका अझै कति महिला हिंसाका घटनाहरु बाहिर निनस्किएको जानकारी गराउने उनले महिला भनेको कमजोर हो भन्ने दृष्टिकोण जबसम्म समाजबाट हट्दैन तबसम्म महिला हिंसा पनि नहट्ने बताइन् ।

महिला आयोगमा गत मार्चदेखि हाल जनवरीसम्म ७ हजार ८१६ वटा महिला हिंसाका फोनमध्ये ३ हजार ४०६ वटा फोनहरु फलानो ठाउँमा वा व्यक्तिलाई हिंसा, कुटपिट आदि भयो भनेर सूचना दिने खालको रहेको छ भने ४ हजार ४१० जनाले गरेको फोन चाहिँ मैले पहिले निवेदन हालेको थिए, के भयो, अब कहाँ जानुपर्छ, कहिले आउने आदि रहेको छ । त्यसमा पनि ३ हजार १९३ जनाले घरेलु हिंसा भयो भनेर सूचना दिएका छन् भने बोक्सीको आरोपमा हुने हिंसा, महिला भएकै कारणले समाजले गर्ने हिंसाहरु ६६३ रहेका छन् ।

आयोगले गत १० महिनादेखि हिंसामा परेका ६५८ जना महिलालाई १२ सय ६० वटा सेसनमा लगि मनोवैज्ञानिक उपचार गरेको छ । जसमा परिवारको सदस्यहरु समेत सम्लग्न रहेका छन् । त्यस्तै, आयोगले ६५८ जनालाई १२ सय ६० पटकसमेत मनोवैज्ञानिक उपचार गरेको छ । त्यसैगरी, महिला आयोग लिगल काउन्सिलको सात सय ५२ जनालाई नौसय २५ वटा सेसनमा गरेको छ भने ६९ वटा घटनाहरु अदालतमा गएको छ । विभिन्न संस्थाहरुको सहकार्यमा २८ वटा घटनाहरुलाई मिलाइएको छ ।

पीडित घर, माइतमा जान नसक्ने पीडितलाई ३६ जनालाई साथीमा स्थायी रुपमा बसोबासको व्यवस्था गरेको छ भने ११ जना बालबालिकाहरु पनि संस्थामा राख्ने व्यवस्था गरेको छ । महिला आयोगले १२ जनालाई रेस्क्यू गरेको छ भने घाउ, चोटपटक लागेका तथा मानसिक सन्तुलन कमजोर भएका ७४ जनालाई उपचारमा सहयोग पुर्याएको छ । १७ जनालाई मनोवैज्ञानिक परामर्श दिएको छ भने २० जना पीडित महिलालाई आफ्नो परिवारमा पुनःमिलन गरेको छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार ०८:५५