सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

नाकबाट दिइने कोरोनाविरुद्ध खोप भारतमा बन्दै, एकैपटकमा काम गर्ने दाबी

प्रतिकात्मक तस्बिर

काठमाडौं । भारतमा चाँडै नाकबाट दिइने अर्थात् इन्ट्रानेजल खोप (भ्याक्सिन) आउने सम्भावना छ । भारतीय सञ्चारमाध्यमका अनुसार हैदरबादस्थित कोभ्याक्सिन बनाउने कम्पनी भारत बायोटेकले नाकबाट दिन मिल्ने कोरोना भ्याक्सिन पनि बनाइरहेको हो ।

प्रयोगशालामा जनावरमा गरिएको परीक्षणमा यो सफल भइरकेको दाबी गरिएको छ । मानिसका लागि पनि यो भ्याक्सिन सुरक्षित छरछैन भन्ने विषयमा औषधि नियामकको विज्ञ टोलीले भारत बायोटेक कम्पनीलाई पहिलो चरणको क्लिनिकल ट्रायलका लागि अनुमति दिइसकेको छ ।

यो खोप प्रयोगका लागि अनुमति प्राप्त भएका भारतीय वैज्ञानिक खुसी भएका छन् । चिकित्सका अनुसार यो भ्याक्सिनले शरीरमा कोरोना भाइरस जाने बाटो बन्द गरिदिन्छ । नाकमा बिनासुई छोटो सिरिन्जमार्फत झोल औषधि स्प्रे गरेर छिराइन्छ । यसको असर दुई हप्तामा देखिन थाल्ने र यो खोप बच्चालाई समेत सजिलै दिन सकिने वैज्ञानिकले बताएका छन् ।

कस्तो हुन्छ त नाकबाट दिने भ्याक्सिन ?

– जसरी मांशपेसीमा सुईमार्फत लगाइने भ्याक्सिनलाई इन्ट्रामस्कुलर भ्याक्सिन भनिन्छ, त्यसैगरी नाकमा थोपा हालेर दिइने भ्याक्सिनलाई इन्ट्रानेजल भ्याक्सिन भनिन्छ । यो नेजल स्प्रेजस्तै हो ।

– यसको राम्रो पक्ष के हो भने यो भ्याक्सिन दिन कुनै इन्जेक्सनको जरुरत पर्दैन । ओरल भ्याक्सिनजस्तो मुखबाट हालिरहन पनि नपर्ने । सरल शब्दमा यो भ्याक्सिनले त्यो ठाउँमा युद्ध गर्छ, जुन ठाउँबाट कोरोना भाइरस मानिसको शरीरभित्र प्रवेश गर्न सक्छ उसलाई त्यहीं रोकिदिन्छ । यसको असर चाँडै र निकै प्रभावकारी हुन्छ ।

– नाकबाट दिइने यो भ्याक्सिनले कोरोना भाइरसबाट बचाउनाका साथै यसबाट हुने रोगसमेत फैलिन नदिने वैज्ञानिकले दाबी गरेका छन् । यो सिंगल डोज अर्थात् एकपटक दिएपछि हुने खोप हो । यसको साइड इफेक्ट पनि सुईमार्फत दिइने खोपको भन्दा कम हुने वैज्ञानिकको दाबी छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार ०८:४२