सूचनाको शक्ति - The Power Of Information

        

विकास

२४ शैय्याको अस्पतालका लागि जग्गा खोज्दै नरैनापुर गाउँपालिका

बाँके । बाँकेको सबैभन्दा पिछडिएको नरैनापुर गाउँपालिकामा २४ शैय्याको आधारभूत अस्पताल बन्ने भएको छ । स्वास्थ्य सेवामा नागरिकको सहज पहुँचका लागि नेपाल सरकारको एक स्थानीय तह एक अस्पतालको अवधारणाअनुसार यो गाउँपालिकामा अस्पताल बन्ने भएको हो ।

केन्द्र सरकारले अस्पताल निर्माण गर्ने निर्णय गरेर यसै वर्ष विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गर्न परिपत्र गरेपछि नरैनापुर गाउँपालिकाले जग्गाको खोजी सुरु गरेको छ । केन्द्र सरकारको निर्णयको स्वागत गर्दै गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले अस्पतालका लागि उचित स्थानमा जग्गा खोज्ने कार्य भइरहेको जानकारी दिए ।

उनले गाउँपालिकाले १५ दिने सूचना नै निकालेर जग्गा खोजी सुरु गरेकोले छिट्टै जग्गा छनोट गरेर थप प्रक्रिया अगाडि बढाइने बताए । अस्पताल बनाउन मापदण्ड पुग्ने छ हजार १६० वर्गमिटर जग्गाको छनोट गरी जिल्ला समन्वय समिति बाँकेको सिफारिससहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाउनुपर्ने भएकाले सूचना निकालेर जग्गा व्यवस्थापनमा लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले बताए ।

उनले निःशुल्क जग्गा उपलब्ध गराउन सक्ने जग्गादाता भए स्वघोषणा सहितको निवदेन पेस गर्न वा प्रतिऐलानी जग्गा भएमा सम्बन्धित वडा, स्वास्थ्य संस्था, गाउँपालिकामा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरिएको बताए । बघौडा क्षेत्रमा राम्रो सुविधा सम्पन्न अस्पताल नहुँदा विगत लामो समयदेखि सो क्षेत्रका बासिन्दा सामान्य उपचारका लागि पनि सीमापारि भारत जाने गरेका थिए ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार ०८:१२