सूचनाको शक्ति - The Power Of Information

        

मौसम

हुस्सुले हवाई उडान रद्द

बाँके । बाक्लो हुस्सु र कुहिरोका कारण बिहीबार पनि नेपालगन्ज विमानस्थलबाट हुने सबै हवाई उडान रद्द भएका छन् । बिहानैबाट लागेको हुस्सुका कारण भिजिबिलिटी नपुग्दा यहाँबाट पश्चिम नेपालका पहाडी जिल्ला र सङ्घीय राजधानी काठमाडौँका लागि हुँदै आएका सबै उडान रद्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

कर्णाली प्रदेशका जुम्ला, हुम्ला, डोल्पा र मुगु तथा सुदूरपश्चिमको बाजुरा, बझाङ तथा सङ्घीय राजधानी काठमाडौँका लागि हुने सबै उडान रद्द गरिएको विमानस्थल टावरका उपप्रबन्धक बालकुमार सिंहले बताए । बुधबार र बिहीबार बिहानैदेखि ३०० मिटर मात्र भिजिबिलिटी रहेकोले सबै उडान रद्द गरिएको उनले बताए ।

जहाज उडान र अवतरणका लागि न्यूनतम एक हजार ६०० मिटर भिजिबिलिटी हुनुपर्नेमा ३०० मिटर मात्र रहेकोले पर्याप्त भिजिबिलिटी नभएसम्मका लागि विमानस्थल बन्द गरिएको हो । हवाई उडान रद्द भएपछि टिकट लिएका सयौँ यात्रु अलपत्र परेका छन् । मौसमका कारण उडान नभएपछि यात्रु विमानस्थलबाट फर्किएको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

मौसममा सुधार नआएसम्म उडान सुचारु गर्न सम्भव नरहेको कार्यालयले जनाएको छ । नेपालगञ्ज विमानस्थलबाट दैनिक कर्णाली सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली जिल्लामा २० वटा र काठमाडौँका लागि नौवटासम्म उडान हुने गरेका छन् । यसैगरी केही दिनयता सुरु भएको शीतलहर र चिसोका कारण बाँके र बर्दियाको जनजीवन प्रभावित भएको छ । बुधबार बाँकेमा तापक्रम आठ डिग्री सेल्सियस पुगेको जल तथा मौसम विभागको राँझास्थित फिल्ड कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार १०:५७