सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

नेपालका लागि कोरोना खोप लिएर भारतबाट उड्यो एयर इन्डिया

कोरोना खोप लोड गरिएको एयर इन्डियाको विमान । तस्वीर : भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तको ट्विटरबाट

काठमाडौं । भारतले अनुदानस्वरूप दिने खोप लिएर त्यहाँबाट एयर इन्डियाको विमान उडेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले कोरोना खोप लोड गरिएको विमानको तस्बिरसहित सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् ।

भारतको विदेश मन्त्रायलयका प्रवक्ता श्रीवास्तवले ट्विट गरेका छन्, ‘भारतमा बनेको कोरोना भ्याक्सिन नेपालका लागि पठाएका छौं ।’ भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज ‘कोभिसिल्ड’ खोप आउँदैछ । खोपलाई त्रिभुवन विमानस्थलको कार्गो भवनमा रहेको कोल्ड स्टोरमा राखिनेछ ।

त्यसपछि उक्त खोप टेकुस्थित केन्द्रीय भ्याक्सिन स्टोरमा राखिनेछ । त्यहाँ २ देखि ८ डिग्री सेल्सियसको तपाक्रममा राखिने उक्त खोप बढीमा पाँच दिनभित्र विभिन्न सात प्रदेशका भ्याक्सिन आपूर्ति केन्द्रमा पठाइने स्वास्थ्य सेवा विभागको खोप शाखाले जानकारी दिएको छ । खोप शाखा प्रमुख एवं खोपविज्ञ डा.झलक शर्मा गौतमका अनुसार ‘कोभिसिल्ड’लाई उपत्यकासहित विराटनगर, हेटौँडा, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा कोल्डस्टोर राखिनेछ ।

तिनै कोल्डस्टोरमा पुगेका खोप जिल्ला जिल्लामा पठाइने तयारी भएको छ । भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित ‘कोभिसिल्ड’ खोप भारत सरकारले नेपाललाई अनुदानमा दिएको हो । उक्त खोपको प्रभावकारिता औसतमा ७०.४ प्रतिशत रहेको पाइएको छ । खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिइसकिएको पनि गौतमले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले भने खोप जिल्ला पुगेपछि एक हप्ताभित्र लगाइसक्ने गरी तयारी गरिएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार ७७ जिल्लामै एकैसाथ खोप अभियान सुरु हुनेछ । सुरूमा यो खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय निकायबाट खटाइएका सफाइकर्मीलाई लगाइनेछ ।

यस्तो संख्या करिव ४ लाख हाराहारी रहेको सरकारी तथ्यांक छ । अनुदानमा आएको यो खोपको प्रभावकारितालाई विचार गर्दै सरकारले बाँकी खोप खरिद गर्ने जनाइ सकेको छ । नेपालका २ करोड १६ लाख जनतालाई खोप लगाउने सरकारी योजना पूरा हुन ५ करोड डोज खोप चाहिने विशेषज्ञहरू बताउँछन् ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार १०:४१