सूचनाको शक्ति - The Power Of Information

        

घरघरमा पुगेर व्यक्तिगत घटना प्रमाणपत्र वितरण शुरु

बाँके । बाँके डुडुवा गाउँपालिकाले अनलाइन व्यक्तिगत घटना दर्ता प्रमाणपत्र वितरण शुरु गरेको छ । बुधबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकाको वडा नं.२ सन्तलिया गाउँका दिलराज भुजवाका छोरा प्रदिप गुप्ताको जन्मदर्ता प्रमाणपत्र प्रदान गर्दै वितरणको कार्य शुभारम्भ गरे ।

जन्मदर्ता प्रमाणपत्र वितरण गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाका कुनै पनि नागरिक सेवाबाट बञ्चित नहुन भनेर घरघरमै सेवा पुरयाउने लक्ष्य अनुसार घरदैलो अभियानमार्फत घटना दर्ता प्रमाणपत्र वितरण शुरु गरिएको बताए । गाउँपालिकाले केहीदिन अघि अनलाइन व्यक्तिगत घटना दर्ताको विवरण संकलन गरेको थियो ।

विवरण संकलनपछि अनलाइनमा दर्ता गरि प्रमाणपत्र बनाएर अहिले घर घरमा वितरण शुरु गरिएको स्थानीय पञ्जिकाधिकारी तथा वडासचिव शिवपाल मौर्यले जानकारी दिए । गाउँपालिकाका कुनै पनि नागरिकले सेवाबाट वञ्चित नहुन र समयमा नै घटना दर्ता गर्ने बानीको विकास गर्ने उद्देश्यले घरघरमा पुगेर घटना दर्ताको विवरण संकलन गरी वितरण शुरु गरिएको हो ।

नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग अन्तरगत डुडुवा गाउँपालिकाद्धारा व्यक्तीगत घटना दर्ता गरिएको हो । गाउँपालिकाको वडा नं. १ होलिया र वार्ड नं. २ बेतहानीमा बुधबारदेखि शुरु गरिएको घरदैलो अभियान अन्तरगत करिब ३० जनालाई प्रमाणपत्र वितरण गरिएको छ ।

शिविरमार्फत गाउँपालिकाबाट वडा सचिवसहितको करिब ४२ जना जनशक्ति परिचालन गरि वडा नंं. १ देखि ६ सम्म करिब १० हजार घरधुरीमा घटना दर्ता अन्र्तगत जन्म, मृत्यु, विवाह र बसाइसराई लगायतका अनलाइन घटना दर्ताका लागि विवरण संकलन गरिएको पालिकाका एमआइएस अपरेटर कौशलकुमार कैरातीले बताए ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार १०:३३