सूचनाको शक्ति - The Power Of Information

        

पूर्व- पश्चिम लोकमार्गमा बस दुर्घटना हुँदा दुईको मृत्यु, १७ घाईते

सर्लाही । पूर्व – पश्चिम लोकमार्ग स्थित हरिवनमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाईते भएका छन् ।

बुधवार साँझ दाङबाट काकडभित्ताको लागि छुटेको ना ५ ख ४४८८ नम्बरको यात्रुवाहक बस पुर्व– पश्चिम लोकमार्ग स्थित हरिवन नगरपालिका–४ सशस्त्र प्रहरी बेशक्याम्प नजिकै दुर्घटनाग्रस्त भएको थियो ।

तिब्र गतिमा रहेको बस आफैँ अनियन्त्रित भएर सडकबाट १० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । घटना लगत्तै घाईतेहरुको सशस्त्र प्रहरी बेसक्याम्प हरिवन र ईलाका प्रहरी कार्यलय हविनको प्रहरी टोलीले उद्दार गरेका थिए ।

दुर्घटनामा परेका एक जनाको घटनास्थलमै र एकजनाको उपचारको लागि विरगञ्ज लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका सूचना अधिकृत एवं प्रहरी नायव उपरिक्षक मदन कुवँरले जानकारी दिए ।

दुर्घटनामा दाङको राप्ती गाउँपालिका–५ बस्ने ३६ वर्षीया राजकुमारी चौधरीको घटनास्थलमै मृत्यु भएको थियो  भने सोही स्थान बस्ने  २३ वर्षीया रिता चौधरीको उपचारको लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि चालक सहित पाँच जना गम्भिर घाईते भएका छन् । उनीहरुको न्युरो अस्पताल विरगञ्जमा उपचार भइरहेको छ भने सामान्य घाइते भएका तीन जनाको नमुना अस्पताल हरिवन र नौ जनाको स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको छ  ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार ०९:१६