सूचनाको शक्ति - The Power Of Information

        

ओली प्रतिगमन प्रमुख खतराः डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले ओली प्रतिगमन प्रमुख खतरा भएको बताउनु भएको छ । यसमा कुनै किन्तुपरन्तु गर्न आवश्यक नरहेको उहाँको भनाई छ ।

बुधबार ट्विट गर्दै भट्टराइले ठीक र बेठीक बीचको संघर्षमा बढी जानेका भन्ठान्ने भद्रभलाद्मीहरू र गहीरो ज्ञान नभएका सर्वसाधारणहरू प्रायः तटस्थ बस्ने बताउनुभयो । तटस्थताले वेठीक, असत्य र अन्यायलाई मद्दत गर्ने उहाँको तर्क छ ।

पछिल्लो समय सडक संघर्षमा होमिएपनि संसद पुनस्थापना या निर्वाचन के भन्ने विषयमा काँगेसले आफ्नो धारण बनाउन नसकेका बेला भट्टराईको यस्तो भनाइ आएको हो । काँग्रेस सभापति शेर बहादुर देउवाले सर्वोच्चले संसद पुनस्थापना या निर्वाचन जे निर्णय गरेपनि आफूलाई स्विकार्य भएको बताउँदै आउनु भएको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसलाई नागरिक समाज र विभिन्न राजनितिक दलले असंवैधानिक भन्दै आएका छन् । नेकपाकै दाहाल-नेपाल समूह ओलीको कदम विरुद्ध आन्दोलनमा छ ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायत उहाँका टिमका नेतालेसमेत ओलीको कदम असंवैधानिक भन्दै आइरहेका छन् । तर सभापति देउवा भने तटस्थ बस्दा काँग्रेसको एजेण्डा के हो बुझ्न सकिएको छैन् ।

यसअघि मंगलबार साँझ ट्विट गर्दै भट्टराईले सबै दल र नागरिक समाजले संयुक्त संघर्ष गर्नुपर्ने बताउनुभएको थियो । उहाँले ओली जस्तै अरू नेताका निम्ति संघर्ष किन गर्ने भन्ने गल्ती नगर्न सुझाव दिँदै ट्र्याक बाहिर गएको संविधानलाई ट्र्याकमा ल्याउने कुरा प्रमुख भएको बताउनुभयो । संविधान बचे कमी सुधार्न सकिन्छ र खराब नेता बदल्न सकिने उहाँको भनाइ छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार १०:१९