सूचनाको शक्ति - The Power Of Information

        

विकास

एकीकृत भन्सार जाँच चौकी निर्माणमा तीब्रता

फाइल तस्वीर

बाँके । बाँकेस्थित नेपाल–भारत सीमानामा बहुप्रतीक्षित एकीकृत भन्सार जाँच चौकीको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । नेपालगन्ज उपमहानगरपालिका–१६, जयसपुरमा उक्त एकीकृत जाँच चौकीको निर्माण भइरहेको छ । सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगन्जका इन्जिनियर होमनाथ भुसालले भारततर्फ भवन निर्माणको काम २५ प्रतिशत सम्पन्न भएको तथा नेपालतर्फ जग खन्ने र बाटो बनाउने काम तीव्र गतिमा भइरहेको बताए ।

इन्जिनियर भुसालका अनुसार आइसीपी निर्माण अन्तरगत अहिले पूर्वाधार निर्माणका लागि कामदार र डोजर, टिपर २४ सैं घण्टा सञ्चालन भइरहेका छन् । जाँच चौकी निर्माणका लागि नेपाल सरकारले ९१ बिघा जमिन अधिग्रहण गरिसकेको जनाउँदै भुसालले अधिग्रहण गरिएको कूल जग्गामध्ये ६७ बिघामा भारत सरकारले कार्यालय, गोदाम लगायतका संरचना निर्माण गर्ने र बाँकी २४ बिघा जग्गा बाटोका लागि छुट्याइएको बताए ।

जाँच चौकी निर्माण सम्पन्न भएमा नेपालगन्ज भन्सार कार्यालयबाट हुने सेवा प्रवाह व्यवस्थित हुने र यसको प्रत्यक्ष लाभ मुलुककै अर्थतन्त्रमा पर्ने यस क्षेत्रका उद्योगी, व्यवसायीहरु बताउँछन् । जाँच चौकीमा मालसामान आयात–निर्यातका लागि आवश्यक पर्ने सबै कार्यालय स्थापना हुने र सबै काम एकै ठाउँबाट गरिने हुँदा सहज हुने नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले जनाए ।

अध्यक्ष मन्सुरीले लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका जिल्लामा अहिले उद्योग, व्यापार बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी भारत र नेपालको आयात–निर्यातलाई सहज व्यवस्थापन गर्न एकीकृत भन्सार जाँच चौकी कोसेढुङ्गा सावित हुने बताए । उनले अहिले निर्माण कार्य तीव्ररूपमा भइरहेकाले छिट्टै सम्पन्न हुने विश्वास बढेको बताए ।

जाँच चौकी निर्माणका लागि नेपाल सरकारले जग्गा मात्र उपलब्ध गराउने र अन्य काम भारत सरकारको तर्फबाट हुने सम्झौताअनुसार अहिले भारतीय पक्षले काम गरिरहेको छ । जाँच चौकी निर्माणका लागि भारत सरकारले करिब एक अर्ब ३६ करोड भारतीय रुपैयाँ छुट्याएको र आवश्यकता अनुसार सो रकममा थपघट हुनसक्ने सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगन्जले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार ०९:०३