सूचनाको शक्ति - The Power Of Information

        

पासवर्ड बिर्सिंदा ३१ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौं । एक जना अर्बपति कम्प्युटर प्रोग्रामरले एउटा शब्द बिर्सिएकै कारण ३१ अर्ब रुपैयाँ गुमाएका छन् । उनले त्यो शब्द सम्झिन सके तत्कालै उनको सबै पैसा फिर्ता आउँछ तर त्यो शब्द सम्झिन नसके उनको करिब ३१ अर्ब रुपैयाँ स्वाहा हुनेछ । न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार अमेरिकाको सन फ्रान्सिस्कोका स्टिफन थोमसको अहिले रातको निद्रा उडेको छ ।

कारण हो पासवर्ड, जो उनले बिर्सिए । पासवर्ड सम्झिँए उनी अर्बपति बन्नेछन् किनकि त्यो पासवर्डबाट उनले आफ्नो डिजिटल पर्स खोल्न सक्नेछन् जहाँ करिब ३१ अर्ब रुपैयाँ छ । स्टिफनले वर्षौं पहिले क्रिप्टोकरेन्सी बिटक्वाइन किनेका थिए । यो बिटक्वाइन उनको डिजिटल वालेटमा छ जसको पासवर्ड उनले बिर्सिएका छन् । अहिले १ बिटक्वाइनको मूल्य ३७ हजार ५३० डलर छ ।

उनको डिजिटल वालेटमा कूल ७ हजार २ बिटक्वाइन छ जसको मूल्य करिब २६ करोड २८ लाख डलर हुन आउँछ । यसको नेपाली मुद्रा करिब ३१ अर्ब रुपैयाँ हुन आउँछ । स्टिफनले किन्दा बिटक्वाइनको मूल्य यति धेरै थिएन तर अहिलेसम्म यसको मूल्य अरबौं पुगेको छ । स्टिफनसँग भएको अरबौं रकम केवल संख्या मात्रै बनेर रहेको छ किनकि उनले यसको प्रयोग गर्न सक्ने स्थिति छैन ।

आइरन नामको सानो हार्ड ड्राइभ खोल्न चाहिने पासवर्ड स्टिफनले बिर्सिइसकेका छन् । आइरनभित्र अर्को एउटा डिजिटल साँचो छ जसलाई प्राइभेट की भनिन्छ । यो प्राइभेट कीले मात्र उनको डिजिटल पर्स खोल्न सकिन्छ जसमा बिटक्वाइन राखिएको छ । स्टिफनले बिटक्वाइन किनेर आइरनको पासवर्ड एउटा कागजमा लेखेर राखेका थिए । कुनै समय बिटक्वाइनको मूल्य धराशायी भएको थियो त्यसैले स्टिफनलाई यसप्रति चासो रहेन ।

कागज पनि हरायो । अहिले मूल्य आकाशिएपछि स्टिफनलाई आफ्नो डिजिटल धन याद आयो तर उनले त्यसलाई हासिल गर्न सकिरहेका छैनन् । उनले पासवर्ड सम्झिने हरसम्भव प्रयास गरिसकेका छन् । समस्या यसकारण पनि छ कि उनले १० पटकमात्र प्रयास गर्न सक्छन् । यदि १० पटकमा उनले सही पासवर्ड राखेर आइरन खोल्न सकेनन् भने उनको वालेट सदाको लागि बन्द हुनेछ । उनले प्रायः जस्ता किसिमका पासवर्ड प्रयोग गर्छन् ती पासवर्डबाड ८ पटक प्रयास गरिसकेका छन् ।

र, हरेक प्रयास विफल भए । अब उनीसँग २ मौका मात्रै बाँकी छन् । अब उनले २ पटक गलत पासवर्ड राखेर वालेट खोल्ने प्रयास गरे भने उनको पैसा कहिल्यै फर्किन नसक्ने गरी स्वाहा हुनेछ । बिटक्वाइनको कुनै नियामक संख्या छैन । न कुनै कम्पनीको नियन्त्रण छ । यो मुद्रा बनाउने व्यक्तिको नाम सातोसी नाकामोतो भनिन्छ तर उनी को हुन् र उनको वास्तविक नाम यही हो वा होइन भन्ने पनि कसैलाई थाहा छैन ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलवार १०:५८