सूचनाको शक्ति - The Power Of Information

        

माघ ९ गते हिउँदे गाउँसभा

नरैनापुर गाउँपालिकाले माग्यो राष्ट्रिय योजना आयोगसँग करोडौंका योजना

बाँके । नरैनापुर गाउँपालिकाले राष्ट्रिय योजना आयोगसंग करोडौंका योजना माग गरेको छ । आयोगले गत मंसिर ३० गते सूचना प्रकाशित गरेर स्थानीय तहबाट समपूरक अनुदानतर्फ १ करोडदेखि १० करोड र विशेष अनुदानतर्फ ५० लाखदेखि १ करोडका योजना माग गर्न आह्वान गरेपछि गाउँ कार्यपालिकाको बैठक बसेर योजना माग गरिएको हो ।

पुस २८ गते बसेको बैठकले समपूरक र विशेष अनुदानका योजना माग गर्ने निर्णय गरेर आयोगमा पठाएको नरैनापुर गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले जानकारी दिए । समपूरकतर्फ पालिकाका ६ वटै वडाका सडक स्तरोन्नतिका लागि योजना माग गरिएको छ । प्रत्येक वडाका लागि एक–एक वटा भौतिक पूर्वाधारको योजना माग गरिएको प्रमूख प्रशासकीय अधिकृत शाहीले बताए ।

वडा नम्बर ६ को गंगापुरदेखि जमुनी हुँदै हुलाकी सडकसम्म जोड्ने ८ मिटर चौडा ३ किलोमिटर सडक स्तरोन्नति, वडा नम्बर ५ मा हुलाकी सडकदेखि मोतिपुर–नयाँबस्ती जोड्ने ५०० मिटर सडक कालोपत्रे, वडा नम्बर ४ मा जयरामपुर्वादेखि दौलतपुर खोदवाँ हुँदै हुलाकी सडक जोड्ने २.८ किलोमिटर सडक स्तरोन्नति, वडा नम्बर ३ को कालागाउँदेखि पचपडवा कोटिया ३.२ किलोमिटर सडक स्तरोन्नतिका लागि योजना माग गरिएको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत शाहीले बताए ।

साथै वडा नम्बर २ मा बेहचहवादेखि शमशेर अलीको घरसम्मको २.८ किलोमिटर सडक स्तरोन्नति र वडा नम्बर १ को हुलाकी सडकदेखि बनियाँगाउँसम्मको ३ किलोमिटर सडक स्तरोन्नतिको योजना माग गरिएको पनि प्रमुख प्रशासकीय अधिकृत शाहीले जानकारी दिए । विशेष अनुदानतर्फ तीन वटा विद्यालयको नयाँ संरचना निर्माण, स्वास्थ्य चौकी भवन र ३० वटा खोप केन्द्र बनाउन योजना माग गरिएको छ ।

वडा नम्बर ४ मा स्वास्थ्य चौकी भवन निर्माण, वडा नम्बर ६ को नेरा प्रावि कुदरबेटवा, वडा नम्बर ५ को नेराप्रावि गंगापुर र वडा नम्बर २ को नेराप्रावि रोशनपूर्वाको पुराना र जीर्ण संरचना भत्काएर नयाँ बनाउने मागिएको छ । पुस २८ कै कार्यपालिका बैठकले टोल विकास संस्थाको गठन तथा परिचालन कार्यविधि २०७७ पनि पारित गरेर लागू गर्ने निर्णय गरेको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले जानकारी दिए ।

यो निर्णयपछि अब गाउँपालिकामा टोल विकास संस्थाले विधानसहित संस्था दर्ता गरेरमात्र काम गर्न पाउने छन् । अध्यक्ष उपाध्यक्षसहित ७ देखि ११ सदस्यीय समिति गठन गर्नुपर्नेछ । स्थायी प्रकृतिका संरचना निर्माण गर्दा उनीहरुलाई जवाफदेही बनाउँदै दिगो विकासका लागि अभिप्रेरित गर्न यस्तो निर्णय गरिएको गाउँपालिकाका सूचना अधिकारी मिश्रले बताए ।

माघ ९ गते हिउँदे गाउँसभा

नरैनापुर गाउँपालिकाले माघ ९ गते हिउँदे गाउँसभा गर्दैछ । गाउँसभामा चालू आर्थिक बर्षको बजेट र योजना संशोधन, पारित भएका ऐन, कानुन, कार्यविधि र मापदण्ड अनुमोदन, छुटफुट योजना समावेश, बेरुजु असुलउपरको प्रगति लगायतको कार्यसूची रहेको उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले जानकारी दिए ।

त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न बनाउने एजेण्डा पनि गाउँसभामा प्रस्तुत गरिने प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुर व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाहले बताए । एम्बुलेन्स खरिद, आँखा उपचार केन्द्र र आकस्मिक कक्ष सञ्चालनका लागि उपकरण औजार खरिद तथा औषधि पसल सम्बन्धि विषय पनि कार्यसूचीमा रहेको उपाध्यक्ष श्रीवास्तवले बताए ।

आधारभूत अस्पतालका लागि जग्गा खोज्दै गाउँपालिका

स्वास्थ्य सेवामा नागरिकको सहज पहुँचका लागि नेपाल सरकारको एक पालिका एक अस्पतालको अवधारणा अनुसार नरैनापुरमा २४ शैयाको आधारभूत अस्पताल बन्ने भएको छ । केन्द्र सरकारले अस्पताल निर्माण गर्ने निर्णय गरेर यसै बर्ष विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गर्न परिपत्र गरेपछि गाउँपालिका जग्गाको खोजीमा जुटेको छ । गत पुस २७ गते गाउँपालिकाले १५ दिने सूचना निकालेर जग्गा खोजी थालेको छ ।

अस्पताल बनाउन मापदण्ड पुग्ने ६१६० बर्गमिटर जग्गाको छनौट गरी जिल्ला समन्वय समिति बाँकेको सिफारिससहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउनुपर्ने भएकाले सूचना निकालेर जग्गा व्यवस्थापनमा लागेको प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए । निःशुल्क जग्गा उपलब्ध गराउन सक्ने जग्गादाता भए स्वघोषणासहितको निवदेन पेश गर्न वा प्रति ऐलानी जग्गा भएमा सम्वन्धित वडा, स्वास्थ्य संस्था र गाउँपालिकामा जानकारी गराउन भनिएको छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार १८:४७