सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

नेपाल–भारत सीमा नाका : न बन्द न खुला !

बाँके । कोभिड–१९ महामारीका कारण गत चैत ११ देखि बन्द रहेको यहाँस्थित नेपाल–भारत सीमा नाका अहिले न पूर्णरूपमा बन्द छ न त पूर्णरूपमा खुला नै भएको छ । सरकारद्वारा पुस मसान्तसम्म सीमा नाका बन्द रहने निर्णय गरिएको भए पनि दुवै देशका नागरिकले यहाँस्थित जमुनाहा नाकाबाट सहजरूपमा विगत बन्दाबन्दीको बेलादेखि नै आवागमन गरिरहेका छन् ।

दुवै देशका नागरिकले आवश्यक काम पर्दा पैदल आवागमन गरिरहे पनि मोटरसाइकल, कार, बस लगायतका सवारीसाधनको आवागमन भने बन्द छ । माघको पहिलो हप्ता लागिसक्दासमेत गृह मन्त्रालयले सीमा नाकामा के गर्ने भन्ने निर्णय नदिँदा सीमा नाकामा अन्योल बढेको र दिनदिनै दुवै देशका नागरिकले सीमा नाका खुल्ने वा नखुल्नेबारे विभिन्न जिज्ञासा राख्ने गरेको जमुनाह प्रहरी चौकीका इन्चार्ज विष्णु गिरीले बताए ।

आवश्यक काम लगायत रोजगारी र व्यावसायिक कामले आवागमन गर्ने दुवै देशका नागरिकले गत लामो समयदेखि सीमा नाकालाई पहिलेजस्तै खुला गर्न दबाब दिँदै आएको पनि उनले बताए । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले यसअघि सरकारले हरेक महिनाको अन्तिममा सीमा बन्दको समय थप्दै आएको बताउँदै अर्को निर्णय नभएसम्म सीमा नाका बन्द रहने बताए । सोही निर्णयबारे सीमा नाकामा रहेको सुरक्षा कार्यालयलाई जानकारी गराउनेसमेत उनले बताए ।

अधिकांश नागरिकले कि त पूरै सीमा नाका खोल्नुपर्यो कि त पूरै बन्द गर्नुप¥यो भन्ने माग गरिरहेको नेपाल–भारत मैत्री सङ्घका अध्यक्ष प्रदीपककुमार गुप्ताले बताए । सीमा नाकामा आवागमन गर्नेलाई अझै धेरै सास्ती खेप्नु परिरहेको हुँदा अब सीमा नाका पूर्णरूपमा खोल्नुपर्ने आवश्यकता रहेको उनले दाबी गरे । नाकाबाट भारतीय र नेपाली दुवै नम्बरका मोटरसाइकल र गाडीलाई पनि पहिलेजस्तै सहज रूपमा आउन जान दिनुपर्ने अधिकांशको माग रहेको छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार ०८:१४