सूचनाको शक्ति - The Power Of Information

        

बेलायतमा एक मिनेटमा १४० जनाले कोरोना खोप लगाए

काठमाडौं । बेलायतले कोरोना विरुद्धको खोप वितरण कार्यलाई तीव्र रुपमा अघि बढाएको छ । कोरोना संक्रमण वृद्धिदर भन्दा पनि तीव्र गतिमा कोरोना विरुद्धको भ्याक्सिन वितरण भइरहेको नेशनल हेल्थ सर्भिस (एनएचएस) लाई उध्रित गर्दै बीबीसीले जनाएको छ ।

पछिल्लो तथ्यांक अनुसार एक मिनेटमा १४० जनालाई कोरोना विरुद्धको खोप दिइएको नेशनल हेल्थ सर्भिस (एनएचएस) का प्रमुख सर साइमन स्टिभेन्सले बताउनुभयो । खोप अझै तीव्र गतिमा अघि बढाउन आउँदो दश दिनभित्र हप्ताको सातैदिन चौबिसै घन्टा खोप वितरण गरिने भएको छ ।

७० वर्षमाथिका पचास प्रतिशतले खोप पाइसकेको स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले जानकारी दिनुभयो । हालसम्म ४३ लाख ७ हजारभन्दा बढी खोप वितरण गरिसकिएको सरकारले जनाएको छ । जसमध्ये ३८ लाख ५७ हजार २६६ जनाले पहिलो डोज लगाएका छन् भने चार लाख ४९ हजार ७३६ ले दोस्रो तथा अन्तिम डोज लिएका छन् ।

खोप वितरणका लागि आजदेखि १० भन्दा बढी केन्द्रहरु सञ्चालनमा आउने भएका छन् । बेलायतमा कोरोना संक्रमण, मृत्युदर र अस्पताल भर्ना हुनेको संख्याको आधारमा पछिल्लो दुई हप्तामा महामारी भएयताकै नयाँ रेकर्ड कायम भएको छ ।

सन् २०२१ को सुरुवातसँगै बेलायतमा एकैदिनमा मृत्यु हुनेको संख्या १५ सय नाघ्यो भने झन्डै ७० हजारको हाराहारीमा संक्रमित थपिए । यसैगरी अस्पतालमा उपचार गराइरहेका संक्रमितको संख्या गत अप्रिलको उच्च विन्दुको भन्दा अहिले दोब्बर पुगेको छ । एजेन्सी

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार ०७:२९