सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोनाविरुद्धको खोप यसैसाता नेपाल आउँदै, फ्रन्टलाइनरलाई प्राथमिकता

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण देखिएको एक वर्ष पुग्दा सरकारले कोरोनाविरुद्ध खोप ल्याउन गरेको सम्पूर्ण तयारी पूरा गरेको छ । खोप यसैसाता नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभ्याक्सबाट आउने खोप ढिलो हुने भएकाले सरकार आफैंले खोप खरिद गरेर सुरुमा फ्रन्टलाइनमा खटिएका तीन प्रतिशत जनतामा खोप प्रयोग गर्ने तयारी थालिएको छ ।

मन्त्रालयका अनुसार अब केही दिनमै ‘सेरम इन्स्टिच्युट अफ इन्डिया’ले उत्पादन गरिरहेको कोभिसिल्ड खोप ल्याउने सबैखाले तयारी पूरा गरिसकेको छ । जसका लागि मन्त्रालयले खोप प्रयोग गर्न चाहिने कोरोना निर्देशिकासमेत बनाइसकेको छ । मन्त्रालय स्रोतले भन्यो, ‘सबै तयारी भइसकेको छ, अब एक दुई दिनमै आउँछ र कसरी लगाउने भन्न पूर्वाभ्यासका लागि ड्रिल गरिनेछ ।’

गत शुक्रबार औषधि व्यवस्था विभागले कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि सशर्त अनुमति दिएपछि नेपालमा यही खोप आउने लगभग निश्चित भएको हो । भारतमा शनिबारदेखि कोभिड खोप लगाउन सुरु भइसकेको छ । यस्तो अवस्थमा नेपालमा खोप कहिलेसम्म आइपुग्छ चर्चा भएको हो ।

यही खोप ल्याउन स्वास्थ्य सचिव लक्ष्मण अर्याल भर्खरै भारत पुगेर कोभिसिल्ड खोप उत्पादन गरिरहेको कम्पनीसँग सल्लाह गरेर आएका समेत बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट ल्याउन लागेको कोभिसिल्डका लागि हाल रेफ्रिजेरेटर भ्यानको समेत तयारी गरिसकेको बताइएको छ ।

हाल भ्याक्सिन स्टोरमा रहेका ९ वटा कोल्ड रुममध्ये २ वटा कोभिड भ्याक्सिन भण्डारणका लागि छुट्याइएको बताइएको छ । विराटनगर, बाराको पथलैयामा रहेको भ्याक्सिन स्टोरमा रहेका ३ वटै भ्याक्सिन स्टोरमा कोभिड भ्याक्सिनको स्टोर, पोखरा, बुटवल र धनगढी नेपालगन्ज र सुर्खेतको एउटा कोल्ड रुम कोभिड भ्याक्सिनका लागि छुट्याइएको छ ।

नेपालमा खोप आएको एक हप्ताभित्रै प्रयोग गरिसकिने र त्यसका लागि १६ हजार खोप केन्द्र बनाइनेछ भने ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंमसेविका परिचालन गर्ने मन्त्रालयको तयारी छ । नेपालमा खोप आए सुरुमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीसहित त्यस्तै अन्यलाई लगाइने छ ।

कोभ्याक्स खोप भने चैत वैशाखसम्म आउने

यता केहीदिनमै भारतमा बनेको सेरम कम्पनीको कोभिसिल्ड खोप खरिद गरेर ल्याएर कोरोनाविरुद्ध खोप अभियान सुरु गर्ने तयारी भए पनि कोभ्याक्स फ्यासिलिटीले दिने खोप भने चैत वैशाखसम्म आइपुग्ने बताइएको छ । जसका लागि गत साता स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै आगामी अप्रिलभित्रमा खोप पठाउने जानकारी दिएको मन्त्रालयले स्रोतले बताएको छ ।

कोभ्याक्स खोप सबै देशले बराबर रुपमा पाउनुपर्छ भन्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन, गाभी, युनिसेफ लगायतका संस्था मिलेर बनेको एलाइन्स हो । २० प्रतिशत नेपालीलाई पुग्नेगरी निशुल्क उपलब्ध गराउने पनि कोभ्यासले प्रतिबदद्धता जनाइसकेको छ । यद्यपि आगामी अप्रिलसम्म खोप पठाउने जानकारी कोभ्याक्सले मन्त्रालयमा पत्रसहित दिए पनि कुन कम्पनीले उत्पादन गरेको खोप पठाउने भन्नेबारे पत्रमा नखुलाइएको मन्त्रालय बताउँछ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार ०७:१५