सूचनाको शक्ति - The Power Of Information

        

आरोप–प्रत्यारोपको राजनीति

नेकपाका अध्यक्ष नेपालले भने, ‘केपी ओली घमण्डी, पाखण्डी र विध्वंशकारी’

बामदेव गौतमलाई ढुलमुले व्यवहार नदेखाउन नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलेको सुझाव

बाँके । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुर्योधनजस्तै नसुन्ने घमण्डी, पाखण्डी, अत्याचारी, तानाशाही प्रवृत्तिका नेता भएको बताएका छन् । नेकपा प्रचण्ड–नेपाल समुहले नेपालगन्जमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई दृष्टिकोण र चिन्तनमा समस्या भएको आरोप लगाए ।

ओलीको तानाशाही प्रबृत्तीको विरुद्ध नेकपा प्रचण्ड–नेपाल समुह आन्दोलनमा उत्रिएको उनले जिकिर गरे । पार्टीको सिद्धान्त, विचार र नीतिमा हिड्न नजान्ने ब्यक्तिलाई नेता मान्न नसकिने अध्यक्ष नेपालको भनाई थियो । उनले ओलीले मदन भण्डारी र पुष्पलाल श्रेष्ठको सिद्धान्तलाई समेत कुल्चेको आरोप लगाए । ‘कम्यूनिष्ट पार्टीमा नेता प्रधान हुँदैन, नीति प्रधान हुन्छ, तर केपी ओलीले नेता प्रधान मानेकै कारण अहिलेको अवस्था सिर्जना भयो,’ उनले भने ।

ओलीले पार्टी एकिकरण कहिलै नचाहेको अध्यक्ष नेपालले ठोकुवा गरे । केपी ओलीले पूर्व एमाले र पूर्व माओवादीलाई भर्याङ बनाएर प्रधानमन्त्रीको कुर्सी टिकाई रहने खेल खेलेको उनको भनाई थियो । संसद विघटन संविधान विपरित भएको बताउँदै उनले कुनै पनि हालतमा संसद विघटन नहुने दावी गरे । ‘जनता सर्वोच्च अदालतभन्दा बलियो छन् । हामीले जनताको ताकतबाट संसद पुनस्र्थापना गरि छाड्छौँ,’ उनले भने ।

अध्यक्ष नेपालले बर्दियामा आयोजित बृहत कार्यकर्ता भेलामा पनि प्रधानमन्त्री ओली विध्वंशकारी व्यक्ति भएको बताए । बर्दियाको गुलरियामा आयोजना गरिएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘एउटा विध्वशंकारी, सन्काहा व्यक्तिले चालेको कदम कुनै पनि हालतमा संविधान सम्मत नभएको हुँदा संसद पुर्नस्थापनाको विकल्प छैन ।’

ओलीको तमासाबाट नेकपाका कार्यकर्तामात्र होइन आम नेपाली पीडित भएको बताउँदै अब यस्ता तमासेवादहरुलाई पार्टीभित्रको साधारण सदस्यसमेत राख्न नहुने कुरामा अध्यक्ष नेपालले जोड दिए । आइतबार बर्दियाको गुलरियामा आयोजित पार्टी कार्यकर्तालाई खुलारुपमा प्रशिक्षण दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले लोकतान्त्रिक परिबेशमा ओली गुटको अन्त्य निश्चित भएको बताउँदै ओलीको गुटमा रहनु आफैलाई सिध्याउनुसरह रहेको स्पष्ट पारे ।

उनले सम्पूर्ण कम्युनिष्टहरुलाई ओलीको दमन, अत्याचार, शोषण र गैरसंवैधानिक कार्यको विरुद्धमा आवाज उठाउन आग्रह गरे । आफ्ना भनार्ई राख्ने क्रममा अध्यक्ष नेपालले अधिकांश समय ओलीको आलोचना गरेका थिए । उनले ओलीको आलोचना गर्दैे पुष्पकमल दाहालको प्रशंसा गरेका थिए । नेपालले पुष्पकमल दाहाल प्रचण्ड सोझो भएको हुँदा पार्टी एकीकरण हुदाँदेखि नै ओलीबाट हेपिँदै आएको पनि बताए ।

अध्यक्ष नेपालले त्यो अवस्थामा ओलीले आफु भए प्रतिकार गर्थे होला प्रचण्ड सोझो भएकै कारण ओलीको हेपाहा प्रबृद्धि मौलाएको बताउँदै प्रधानमन्त्री ओली सत्ताच्यूत हुन समय नलाग्ने पनि बताए । यस्तै उक्त प्रशिक्षणमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कुनै पनि हालतमा संसद पुनःस्थापना हुने बताउँदै संविधानको रक्षाका लागि ओलीजस्ता सामन्तवादीलाई पाखा लगाउन जरुरी भएको बताए ।

नेता श्रेष्ठले गत बैशाख महिनामा भएको सचिवालय बैठकमा बामदेव गौतमले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजिनामा माग गरेको दावी गर्दै हाल आएर ढुलमुले व्यवहार नदेखाउन बामदेव गौतमलाई आग्रह गरे । ‘यो ढुलमुले व्यवहारले गौतमलाई फेरी अप्ठेरोमा पार्नेछ । यसप्रति गौतमले सोच्नुपर्छ,’ भन्दै नेता श्रेष्ठले सुझाव भने । उनले नेता गौतमलाई केपी ओलीको पछाडी नलाग्न पनि सुझाव दिए ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतवार १९:०८