सूचनाको शक्ति - The Power Of Information

        

पीएम कपमा बागमतीको पहिलो जित

काठमाडौं । पीएम कप राष्ट्रिय एक दिवसीय क्रिकेट अन्तर्गत समूह बीको पहिलो खेलमा बागमती प्रदेशले जित निकालेको छ।

उसले आइतबार सम्पन्न खेलमा नेपाल पुलिसको विभागीय टिमलाई ७ विकेटले हराउँदै सुरुवाती जित निकालेको हो।

त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले २९ ओभर तीन बलमा पूरा विकेट गुमाएर १११ रन बनाएको थियो।

जवाफी ब्याटिङमा बागमतीले ९२ बल बाँकी रहँदै लक्ष्य भेट्टायो। बागमतीलाई जित दिलाउने क्रममा पृथु बास्कोटा अर्धशतक बनाउनबाट दुई रनले पछि परे। राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का र इशान पाण्डेले समान १७–१७ रन बनाए।

बागमतीविरुद्ध पुलिसका दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले १–१ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको पुलिसका ऐरी र आरिफ शेखले २१–२१ रन बनाए।

त्यस्तै ओपनर सुनिल धमला र कुशल भुर्तेलले १७–१७ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रर्दर्शन गरेनन्।

यता बागमतीका लागि तिलक भण्डारी र नन्दन यादवले समान ४¬–४ विकेट गिराए भने रामनरेश गिरीले दुई विकेट लिए। जितसहित बागमतीले दुई अंक जोडेको छ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतवार १५:४४