सूचनाको शक्ति - The Power Of Information

        

आरोप–प्रत्यारोप

माधवलाई शंकरको कडा टिप्पणी, प्रचण्डसँगको सहकार्य पार्टीविरुद्ध घात भएन र ?

बाँके । नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीचको सहकार्यको विषयलाई लिएर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कडा टिप्पणी गरेका छन् । नेकपा अनौपचारिक रूपमा विभाजन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई छाडेर तत्कालीन नेकपा एमालेका नेता नेपाल प्रचण्डसँग सहकार्य गर्न पुगेका छन् ।

पार्टी एकतापूर्वदेखि नै ओली र नेता नेपालबीच विमति रहँदै आएको थियो । ‘माधव कमरेड तपाईंले जारी गरेको निर्देशनअनुसार तत्कालीन माओवादी उग्रवामपन्थको राजनीतिक विरोध र प्रतिवाद गर्दा कमरेड यदु गौतम लगायत तत्कालिक एमालेका झण्डै ५०० कार्यकर्ताले जीवन वलिदान गर्नुभएको थियो,’ उनले लेखेका छन्, ‘तर आज तपाईं कमरेड प्रचण्डसँग सुरुदेखि नै सहकार्यमा रहेको दाबी गर्दै हुनुहुन्छ ।’

शान्ति प्रकृयामा ल्याउन वार्ता गर्नु र निरन्तर सहकार्य गर्नु फरक कुरा भएको उनले तर्क गरेका छन् । ‘शान्ति प्रकृयामा ल्याउन वार्ता गर्नु र निरन्तर सहकार्य गर्नु फरक होला नि कमरेड । त्यतिबेला साच्चै माओवादी नेता प्रचण्डसँगको सहकार्य रहनु भएको हो भने त्यो पार्टी विरुद्धको घात भएन र कमरेड ?’ उनले भनेका छन् ।

विधि र पद्धतिमा जोड दिने कुराले प्रचण्डसँगको साँठगाँठको औचित्य पुष्टि गर्नका लागि आफ्नै मान्यताविपरीत भएको जिकिर गरेका छन् । ‘शान्ति प्रकृयामा प्रवेशपछि त हामी सबै सहकार्यमा होइन एकतामा नै बाँधिएका हौँ । त्योभन्दा पहिले लामो समयसम्म तपाईंकै नेतृत्वमा माओवादी उग्रवामपंथ विरुद्ध वैचाारिक तथा राजनीतिक संघर्षमा रहेको कुरा सत्य होइन र ?’ उनले प्रश्न गर्दै भनेका छन्, ‘यति छिटै इतिहासको कटु सत्यलाई कसरी बिर्सन मिल्छ र ?’

https://www.facebook.com/shankar.pokhrel.946/posts/1768143240008218

प्रकाशित मिति : ४ माघ २०७७, आइतवार १३:२१