सूचनाको शक्ति - The Power Of Information

        

नेता यादवको निधनको शोकमा नरैनापुर बन्द

बाँके । नरैनापुर गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । गर्ने भएको छ । गाउँपालिका–२ का स्थानीय बासिन्दासमेत रहेका भूमि व्यवस्थापन तथा सुकुमबासी समस्या समाधान आयोगका सदस्य एवम् पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री र संविधानसभाका सदस्य दिनेशचन्द्र यादवको निधन भएकोमा दुख ब्यक्त गर्दै गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवको अध्यक्षतामा शनिवार बसेको बैठकले यादवको निधनप्रति हार्दिक श्रद्धान्जली अर्पण र गहिरो समवेदना ब्यक्त गर्दै आज एक दिनका लागि आकस्मिक स्वास्थ्य सेवाबाहेक सबै कार्यालय बिदा गरिएको गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आज गाउँपालिकाभित्र रहेका सरकारी तथा गैरसरकारी संघसंस्था र विद्यालयहरुसमेत बन्द गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले जानकारी दिए । नेकपाका केन्द्रिय सदस्य तथा बाँकेका ईन्चार्ज समेत रहेका नेता यादवको निधनले यतिबेला नेकपा बाँके मात्र नभएर सिङ्गो बघौडा क्षेत्र शोकमय बनेको छ ।

विभिन्न राजनीतिक उतारचढावमा समेत निरन्तर बघौडा क्षेत्रका हितमा नेता यादवको महत्वपूर्ण योगदान रहेको थियो । पछिल्लो पटक बिरामी भएर सिकिस्त हुँदा उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो । यादवको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि गत पुष १४ गते थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उनलाई काठमाडौं लगिएको थियो ।

काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारार्थ यादवको पछिल्लो पटक स्वास्थ्य अवस्था झन् गम्भीर बनेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । नेता यादवको आफन्तहरुका अनुसार ग्राण्डी अस्पतालमा उपचाररत रहेकै अवस्थामा बिहीबार बिहान २ः३० बजे उपचारका क्रममा उहाँको निधन भएको थियोे । नेता यादवको मृत्युसँगै यतिबेला नेकपा बाँके स्तब्ध बनेको छ ।

लोकप्रिय नेता यादव २०७० सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका हुनुभएको थियो । यसका अलावा उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पहिलो सरकारमा खानेपानी राज्यमन्त्रीको जिम्मेवारी समेत निर्वाह गरेका थिए । मधेसी समुदायबीच पार्टीलाई लोकप्रिय बनाउन उनको महत्वपूर्ण भूमिका रहेको थियो ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतवार १२:५२