सूचनाको शक्ति - The Power Of Information

        

शीतलहरको प्रभाव

अस्पतालमा बिरामी बढे, जनजीवन प्रभावित

बाँके । बाँकेमा तीन दिनदेखि सुरु भएको शीतलहर र हुस्सुका कारण चिसो अत्यधिक बढेको छ । शीतलहर र हुस्सुले गर्दा चिसो धेरै बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बुधबारदेखि सुरु भएको शीतलहरले गर्दा चिसो अत्याधिक बढेको कारण बिहान र बेलुकी सडकमा सवारी साधन र स्थानीयको आवागमन निकै कम देखिएको छ ।

चिसो बढेका कारण नेपालगन्जका प्रमुख बजार त्रिभुवन चोक, सदरलाइन, घरबारीटोल, बीपी चोक, वीरेन्द्र चोक र पुष्पलाल चोक क्षेत्रमा चहलपहल घटेको छ । शीतलहर चलेर चिसो बढेपछि बजारमा स्थानीयको आवागमन घटेको हो । शीतलहर र चिसोबाट सबैभन्दा बढी रिक्सा चालक, ठेला चालक र मजदुर बढी प्रभावित भएका छन् ।

बालबालिका र वृद्धवृद्धाहरूलाई पनि यसले प्रभाव पारेको छ । चिसो बढ्दै गएकोले स्थानीय बासिन्दाले उपमहानगरपालिकासँंग टोलटोलमा दाउरा खसाल्न आग्रह गरेका छन् । शीतलहर, कुहिरो र भिजीबलिटी कम भएका कारण तीन दिनयता बिहान र बेलुका नेपालगन्जबाट हुने अधिकांश हवाई उडान प्रभावित भएका छन् ।

पहाडी जिल्ला हुम्ला, बाजुरा, मुगुको रारा, डोल्पा र जुम्लाका लागि बिहान हुने हवाई उडानमध्ये केही रद्द हुँदै आएको र केहीमा ढिलाई हुने गरेको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ । सोही प्रकारले सङ्घीय राजधानी काठमाडौंका लागि बिहान र बेलुका हुने हवाई उडान पनि प्रभावित भइरहेको कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले बताए ।

जल तथा मौसम विज्ञान फिल्ड कार्यालय राँझाका अनुसार गत तीन दिनदेखि नेपालगन्जको तापक्रम घट्दै गएको छ । शनिबार १२ दशमलव १ सेल्सियससम्म तापक्रम पुगेको सो कार्यालयले जनाएको छ । यसैबीच केही दिनयता चिसो बढ्दै गएका कारण नेपालगन्जका अस्पतालमा चिसोका बिरामीहरू पुग्ने क्रम बढेको अस्पतालले जनाएका छन् ।

मेडिकल कलेजको नेपालगन्जस्थित शिक्षण अस्पतालमा एक सातायता निमोनिया, कोल्ड डायरिया र रुघाखोकी लागेको बालबालिका र वृद्धवृद्धाहरू आउने क्रम बढेको सो अस्पतालका निर्देशक डा.एम किदवाईले बताए । उनले चिसो बढेसंँगै बिरामीहरू अस्पतालमा आउने क्रम बढेकाले चिसोबाट जोगिने उपाय अपनाउन सबैसंँग आग्रह गरे ।

भेरी अस्पतालमा पनि चिसोका बिरामी आउने क्रम दिनदिनै बढ्दै गएको अस्पतालका चिकित्सक डा.सङ्केत रिसालले बताए । यस मौसममा खासगरी बालबालिकालाई बढी हेरचाह गर्नुपर्नेमा जोड दिँदै चिसोबाट जोगाउन न्यानो लुगा र आगो लगायत हिटरमा आफ्ना बालबालिकालाई राख्नुपर्ने शिक्षण अस्पताल नेपालगन्जका बाल विशेषज्ञ डा.सकिल अहमदले बताए ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतवार १२:२७