सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीले केटो भनेपछि योगेशको जवाफ, ‘तपाईंको स्तर थाहा भयो’

काठमाडौं । नेकपाका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई धोका दिएर लात्ताले हानेको भन्दै व्यंग्य गरेपछि उनले जवाफ फर्काएका छन् । शनिबार नेकपा ओली समूहको प्रदेश १ स्तरीय कार्यकर्ता भेलालाई काठमाडौँमा सम्बोधन गर्दै ओलीले भट्टराईलाई ‘बैगुनी केटो पुक्क लात्ताले हानेर भाग्यो’ भन्दै व्यङ्ग्य गरेका थिए ।

तर उनले योगेश भट्टराईको नाम लिएका थिएनन् । पूर्वमन्त्रीसमेत रहेका भट्टराईले आफूलाई केटोभन्दा दुःख नलागेको बरु प्रधानमन्त्री ओलीको स्तर थाहा पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् । ओलीले २०७४ सालको निर्वाचनमा ताप्लेजुङमा आयोजित योगेश भट्टराईको चुनावी सभामा सम्बोधन गर्नै उनलाई जनताले जिताएर पठाए आफूले मन्त्री बनाउने प्रतिवद्धता जनाएका थिए ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि भने उनको ठाउँमा ओलीले भट्टराईलाई मन्त्री बनाएका थिए । तर गत पुष ५ गते प्रधानमन्त्रीले संसद भंगको कदम चालेपछि भट्टराईले राजीनामा दिएका थिए । उनी अहिले विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहमा छन् ।

शनिबारको कार्यकर्ता भेलामा ओलीले भनेका थिए, ‘दौडादौड गरेर, यो केटालाई जिताएर पठाउनुस् मन्त्री बनाउँछु भनेर, मन्त्री पनि बनाएँ । एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ ।’

जवाफ दिँदै योगेशले भनेका छन्, ‘केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्थामै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो । केटो भनिपाउँदा मलाई दुःख छैन । तपाईंको स्तर थाहा पाएँ, खुशी लाग्यो ।’

प्रकाशित मिति : ४ माघ २०७७, आइतवार ११:३४