सूचनाको शक्ति - The Power Of Information

        

अझै भेटिएनन् जुम्लाका १९ बालबालिका

जुम्ला । २०७७ साउनदेखि अहिलेसम्म जुम्लाबाट हराएका १९ बालबालिका अझै भेटिएका छैनन् । जिल्ला प्रहरी कार्यालय जुम्लाको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका अनुसार जिल्लाका १९ बालबालिका हराइरहेका छन् ।

उनीहरूको खोजी भइरहे पनि अझै नभेटिएको प्रहरीले जानकारी दिएको छ । सेवा केन्द्रमा घरेलु हिंसाका १८ र सामाजिक हिंसाका १९ वटा उजुरी परेका छन् । सेवा केन्द्रसहित जिल्ला प्रहरी कार्यालय जुम्लाको मुद्दा शाखामा २०७७ साउनदेखि अहिलेसम्म १०९ वटा मुद्दा दर्ता भएका छन् ।

पछिल्लो वर्ष सबैभन्दा धेरै अभद्र व्यवहार गरेको मुद्दा परेको छ । यस्तै, कर्तव्य ज्यानका ४ वटा, व्यक्ति वेपत्ता भएको एउटा, ज्यान मार्ने उद्योगका एउटा, झुण्डिएका ९ वटा, बिष सेवन गरेका ४ वटा मुद्दा परेको प्रहरी निरीक्षक युवन चौधरीले जानकारी दिए ।

उनका अनुसार भवितव्यका ५ वटा, जवजस्ती करणीका ३ वटा र जबजबस्ती करणी उद्योगका २ वटा, बहुविवाहका ४ वटा, लागूऔषधका ३ वटा, जुवातासका २ वटा, सार्वजानिक अपराधका ५ वटा, किर्ते कागजको एउटा, नागरिकता सम्बन्धी एक र चोरी सम्बन्धीका २ वटा उजुरी परेका छन् । यस वर्ष जुम्लामा बालविवाहका उजुरी भने आएको छैन ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतवार ११:२०