बाँके । पुसको अन्तिम साताबाट चिसो अत्यधिक बढेका कारण नेपालगन्जमा हिटर, गिजर, कम्बल लगायतका न्यानो सामग्रीको बिक्री बढेको छ । अत्यधिक चिसो बढेका कारण विद्युतीय हिटर, विद्युतीय तथा ग्यास गिजर तथा न्यानो कपडाको व्यवसाय गर्ने व्यवसायीलाई भ्याइनभ्याई रहेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
सङ्घका अध्यक्ष अब्दुल वाहीद मन्सुरीका अनुसार स्थानीय बजारमा स्टकमा रहेका सबैजसो हिटर र गिजर बिक्री भइसकेकाले ती सामग्रीको अभावसमेत उत्पन्न भएको छ । एक साताको अवधिमा नेपालगन्जमा करिब १० हजारभन्दा बढी हिटर र तीन हजारभन्दा बढी गिजर बिक्री भएको जानकारी आएको अध्यक्ष मन्सुरीले बताए ।
जाडो बढेपछि सीमापारिका भारतीय बासिन्दाले पनि यहाँ आएर हिटर र गिजर खरिद गरेको व्यवसायीले जनाएका छन् । नेपालमा पाइने चाइनिज हिटर सस्तो र राम्रो भएकाले सीमापारि भारतका गोण्डा, लखिमपुर, नानपारा, बहराइच, रुपैडिहा र बाबागन्जका बासिन्दा खरिद गर्न आउने गरेको नेपालगन्ज सदरलाइनका व्यवसायी सन्तोष बर्माले बताए ।
सुरुमा चिसो खासै नबढ्ने अनुमान गरिएकाले त्यति धेरै हिटर र गिजर नराखिएको जनाए । व्यवसायी बर्माले चिसो बढेपछि माग धेरै बढ्दा फेरि ठुलो परिमाणमा मगाइएको बताउँदै आफुले मात्रै दुई हजार थान हिटर बेचेको बताए । एक सातायता ठुलो परिमाणमा कम्बल लगायतका न्यानो कपडा बिक्री गरेको त्रिभुवन चोकका व्यवसायी मनोज अग्रवालले बताए ।
उता नेपाल विद्युत् प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रले पनि चिसो अत्यधिक बढेकाले केही दिनयता विद्युत्को खपत बढ्दै गएको जनाएको छ । चिसोका कारण एसी, गिजर र हिटरको प्रयोग बढ्दै गएकाले विद्युत् खपतमा पनि वृद्धि भएको विद्युत् प्राधिकरण वितरण केन्द्र नेपालगन्जले जनाएको छ ।
।