बाँके । भेरी अस्पताल नेपालगन्जबाट ठूलो परिमाणमा निस्कने स्वास्थ्यजन्य फोहोरलाई सहज तरिकाले व्यवस्थापन गरिने भएको छ । सो अस्पतालबाट निस्कने स्वास्थ्यजन्य फोहोर व्यवस्थापन गर्न समस्या हुँदै आएकोले एकातिर अहिलेसम्म फोहोर व्यवस्थित हुन सकेको थिएन ।
अर्कोतिर सो फोहोरबाट सर्वसाधारणको स्वास्थ्यमा गम्भीर समस्या हुने डर रहेकोमा चिन्ता व्यक्त गरिँदै आइएको थियो । स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि भेरी अस्पताललाई अटो क्लेभको व्यवस्था भएकोले आउँदा दिनमा अस्पतालको स्वास्थ्यजन्य फोहोर सहजै व्यवस्थित हुने अस्पतालले जनाएको छ ।
जर्मन सहयोग नियोग (जीआइजेड)द्वारा २२७ लिटर र १०० लिटर गरी दुई थरीका दुईवटा क्लेभ अस्पतालका प्रमुख डा.प्रकाश थापालाई हस्तान्तरण गरिएको छ । यसका साथै अस्पताललाई एउटा कम्प्रेसरसमेत उपलब्ध गराइएको छ । फोहोर व्यवस्थापनका लागि जीआइजेडले अस्पताललाई दुई थान अटो क्लेभ सहयोग प्रदान गरेको छ ।
भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले अब अस्पतालबाट ठूलो परिमाणमा निस्कने फोहोर व्यवस्थापन गर्न कुनै समस्या नहुने बताए । २९ लाख रुपियाँ बराबरको उक्त सामग्री सहयोग भएको बताइएको छ । अटो क्लेभको सहायताले सिरिन्जलगायत अन्य स्वास्थ्यजन्य फोहोरलाई सहजै निर्मलीकरण गरिनेछ ।
।