सूचनाको शक्ति - The Power Of Information

        

हट्दै विकृति

बालविवाहमुक्त जिल्ला बनाउने अभियानमा स्थानीय तह सक्रिय

प्रतिकात्मक तस्वीर

बाँके । बाँके जिल्लालाई बालविवाहमुक्त जिल्ला बनाउनका लागि जिल्लाका सबै स्थानीय तह सक्रिय भएका छन् । जिल्लाका सबै स्थानीय तहले किशोरी क्लबहरूसँगको सहकार्यमा बालविवाहमुक्त जिल्लाको निर्माणमा सक्रियता देखाएका हुन् ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले जिल्ला परिषद्ले बालविवाहमुक्त जिल्ला घोषणा गर्ने प्रस्ताव पारित गरिसकेको जानकारी दिए । उनले अशिक्षाका कारण बालविवाह नघटेको जिकिर गर्दै बालिका शिक्षाका लागि जिससले जिल्लाका पाँचवटा स्थानीय तहमा छात्रा मात्र पढ्ने विद्यालयका लागि सहयोग गर्न लागेको बताए ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विक र नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले बालविवाह न्यूनीकरण गर्दै बालविवाहमुक्त घोषणाबारे स्थानीय तहले तयारी गरको बताएकी छन् ।

खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिले गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ लाई बालविवाहमुक्त वडा घोषणा गर्ने तयारी भइरहेको बताए । उनले अन्य वडामा पनि बालविवाहबारे सचेतनामूलक कार्यक्रमको खाँचो रहेको बताउँदै बालविवाह न्यूनीकरणका लागि किशोरी क्लबले योजना ल्याएमा बजेट नै विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले नगरका सबै वडामा किशोरी क्लब गठन गर्ने र क्लबको संस्थागत विकास गरी बालविवाहमुक्त वडा घोषणा गरिने योजना बनाइएको बताइन् ।

बाँकेलाई बालविवाहमुक्त गर्न प्लान इन्टरनेसनल नेपालले जिल्लाका आठवटै स्थानीय तहसँगको सहकार्यमा बालविवाह रोकथाम परियोजना सञ्चालन गर्न गैरसरकारी संस्थालाई सहयोग गरको छ । सो परियोजनाले आगामी छ महिनाभित्र जिल्लाका कम्तीमा पनि २० वडालाई बालविवाहमुक्त घोषणा गर्ने तयारी गरेको प्लान इन्टरनेसनल नेपालले जनाएको छ ।

प्लान नेपालका प्रदेश प्रबन्धक मीना पराजुलीले बालविवाह न्यूनीकरणका लागि प्लानले सहयोग गरिरहेको जनाउँदै किशोरी क्लबलाई प्रभावकारी योजना बनाएर ल्याउन आग्रह गरिन् । उनले प्लानद्वारा सञ्चालन गरिएको परियोजनाले आगामी छ महिनाभित्र जिल्लाका कम्तीमा पनि २० वटा वडा बालविवाहमुक्त घोषणा गर्ने जनाइन् ।

लगनशील किशोरी क्लबका अध्यक्ष मञ्जु थापा मगर र कोषाध्यक्ष चेतना क्षेत्रीले बालविवाह न्यूनीकरणका लागि क्लबका पदाधिकारीलाई क्षमता अभिवृद्धिसम्बन्धी तालिम प्रदान गरिएको जानकारी दिइन् ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार १०:४३