सूचनाको शक्ति - The Power Of Information

        

भारतमा बर्डफ्लु

नेपालमा बर्डफ्लु भित्रिन नदिन बाँकेमा उच्च सतर्कता

नेपालगन्जस्थित नेपाल–भारत सीमा जमुनाहा नाका ।

बाँके । भारतका विभिन्न प्रदेशमा कुखुरा लगायत पन्छीमा बर्डफ्लु देखिएर ठूलो क्षति हुन थालेपछि नेपालमा भित्रिन नदिन बाँकेमा उच्च सतर्कता अपनाउन थालिएको छ । पन्छी तथा पन्छीजन्य वस्तुको आयातमा प्रतिबन्ध रहे पनि खुला सिमानाका कारण लुकिछिपी भित्रिन सक्ने आशङ्कामा सीमा क्षेत्रमा निगरानी बढाउँदै चेकजाँचमा समेत कडाइ गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सीमावर्ती भारतीय सहरमा ठूलो समस्या भएको बर्डफ्लु भित्रिन नदिन उच्च सतर्कता अपनाइएको बताए । उनले पहिलेदेखि नै पन्छी तथा पन्छीजन्य वस्तुको भारतबाट आयातमा प्रतिबन्ध रहे पनि अझै लुकिछिपी कुखुरा भित्रिने गरेको जानकारी आएकाले सिमानामा थप कडाइ गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको बताए ।

मुख्य नाकामा सुरक्षाकर्मीले कडाइ गरेका कारण कुखुरा र चल्ला भित्रिन नपाए पनि ग्रामीण क्षेत्रमा रहेका साइड नाकाबाट भित्रिने आशङ्का रहेकाले ती नाकामा पनि गस्ती बढाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । तस्करी नियन्त्रणका लागि सिमानामा खटिएका सशस्त्र प्रहरीलाई पन्छी तथा पन्छीजन्य वस्तुको आयात रोक्न कडा निर्देशन दिइएको सशस्त्र प्रहरी बाँकेका प्रमुख एसपी अशोक बमले बताए ।

उनले प्रहरीले पटक–पटक अवैध आयात गरिएका कुखुरा लगायतका सामग्री नियन्त्रणमा लिँदै आएको पनि बताए । कुखुरा व्यवसायी सङ्घ बाँकेका अध्यक्ष लालबहादुर खत्रीले भारतमा बर्डफ्लु फैलिएकाले भारतबाट एउटा पनि कुखुरा नेपालमा आउन नदिने व्यवस्था मिलाउन प्रहरी प्रशासनसँग आग्रह गरेको बताए ।

अध्यक्ष खत्रीले भारतबाट कुखुरा अवैधरूपमा भित्रिने क्रम अझै पनि जारी रहेकाले निकै जोखिमपूर्ण अवस्था रहेको जनाउँदै सो रोक्न जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको बताए । सरकारले भारतबाट भित्रिने पन्छी तथा पन्छीजन्य वस्तुमा यसअघि केही वर्षदेखि प्रतिबन्ध लगाएको छ ।

तर खुला सिमानाको फाइदा उठाउँदै भारतबाट कुखुरा नेपाल भित्रिइरहेका छन् । जसका कारण बाँकेमा बर्डफ्लुको उच्च जोखिम छ । भारतबाट आउने कुखुरा, अन्डा र चल्लालाई आउन नदिन निकै कडाइ गरिएको नेपालगन्ज भन्सार कार्यालयले पनि जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार १०:०९