बाँके । कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण भारतबाट घर आएका कर्णालीका ग्रामीण क्षेत्रका युवा पुनः भारततिरै फर्किन थालेका छन् । युवाहरु फर्किएसँगै कर्णालीका गाउँहरु पुनः सुनसान हुन थालेका छन् । चाडपर्व र खेतीपातीको काम सकिएसँगै स्थानीयवासी कामका लागि भारततर्फ लागेका हुन् ।
रोजगारीका लागि भारतको मुम्बई जान लागेका छेडागाड नगरपालिका–३ का बीरबहादुर सुनारले भने, ‘पाँच वर्षसम्म भारतमा काम गरेर बिताइयो । कोरोनाका कारण होटल बन्द भएपछि घर आएको हुँ, उताबाट कमाएर ल्याएको पैसा पनि सकियो, गाउँघरमा केही गरौँ भन्ने खासै केही देखिएन । त्यही भएर फेरि उतैतिर जाँदैछु ।’
गत वर्ष कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि लकडाउन गरिएसँगै भारततर्फ रोजगारीका लागि गएका दुई लाखभन्दा बढी व्यक्ति कर्णाली प्रदेशका विभिन्न जिल्लामा फर्किएका थिए । भारतबाट फर्किएकाका कारण ग्रामीण क्षेत्रमा चहलपहल बढेको थियो । घर फर्किएका युवा पुनः भारततर्फ गएसँगै गाउँघर सुनसान देखिन थालेका छन् ।
युवाका कारण चाडपर्वको माहोलजस्तै भएको अनुभव सुनाउँदै भेरी नगरपालिका–२ का लालबहादुर शाहीले भने, ‘भारतमा पनि काम गर्ने ठाउँमा काम बन्द भएपछि धेरै जना घर फर्किएका थिए । अहिले उता पनि राम्रैसँग काम चालू भएको छ भन्ने सुनिन्छ, उतिखेर आएकाहरू पनि अहिले उतै फर्किएका छन् ।’
भारतबाट फर्किएकालाई स्वदेशमै रोक्नका लागि स्थानीय तहबाट विभिन्न रोजगारमूलक कार्यक्रमको घोषणा गरिएको भए पनि धेरैलाई रोक्न सकिएको देखिँदैन । अझै पनि स्थानीयस्तरमा केही गर्न सकिन्छ भन्ने भावनाको विकास युवामा हुन नसकिएका कारण पनि भारत जाने परम्पराको अन्त्य हुन सकेको छैन ।
ग्रामीण क्षेत्रमा युवा भारत गएसँगै विकास निर्माणका काममा महिलाको सहभागिता बढी देखिन्छ । विभिन्न स्थानीय तहद्वारा लकडाउनको अवधिमा केही महिनासम्म भारतबाट फर्किएकाको तथ्याङ्क राखिएको भए पनि पछिल्लो समयमा कति आए र कति फर्किए भन्ने यकिन सङ्ख्यासमेत पाउन सकिएको छैन ।
।