सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय कानुन

थारू समुदायको बडघर प्रथालाई कानुनी मान्यता

फाइल तस्वीर

बर्दिया । बर्दियाको एक स्थानीय तहले थारू समुदायमा रहेको बडघर प्रथालाई कानुनी मान्यता दिएको छ । थारू समुदायमा रहेको परम्परागत संस्था बडघर प्रथालाई व्यवस्थित गर्नका लागि बारबर्दिया नगरपालिकाले ऐन बनाएको छ ।

‘बारबर्दिया नगरपालिकाको क्षेत्रभित्र रहेका टोल बडघर संस्थालाई परिचालन गर्न बनेको ऐन २०७७’ बारबर्दिया नगरपालिकाको आठौँ नगर सभाले सर्वसम्मत रूपमा पास गरेको हो । नगर सभाले थारू समुदायमा रहेको बडघर प्रथालाई संस्थागत गर्नका लागि ऐन पास गरेको हो ।

बडघर प्रथालाई कानुनीरूपमा मान्यता दिई संस्थागत गरेको नेपालकै यो पहिलो हो । नगरपालिकाले ल्याएको ऐनमा बडघरको चयन, उनीहरूको कार्यक्षेत्र, काम, कर्तव्य, अधिकार, मर्यादा लगायतका कुरा समेटिएको छ । बडघरले आफ्नो कार्यक्षेत्रमा नेपाल सरकारको प्रचलित ऐन नियमविपरीत नहुने गरी गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी ऐनमा नगरपालिकाका जनप्रतिधिसँग समन्वय गर्ने, गाउँमा रहेका सानातिना झैझगडा समाधान गर्ने, गाउँटोलमा आइपर्ने जुनसुकै काममा सक्रिय सहभागिता जनाउने जस्ता प्रावधान तोकिएको छ । त्यसैगरी बडघर प्रथामा सहायक बडघर र चौकीदार समेतको काम, कर्तव्य र अधिकारका बारेमा उल्लेख गरिएको छ ।

सहायक बडघरको कार्य बडघरको अनुपस्थितिमा गाउँको नेतृत्व गर्ने र चौकीदारको कार्य गाउँमा आवश्यक सूचना प्रवाह गर्नुपर्ने उल्लेख गरिएको छ । थारू समुदायको ठूलो पर्व माघीको समयमा बडघरको छनोट गर्ने गरिन्छ । ऐनमा बडघरको चयन थारू परम्पराअनुसार नै गर्नुपर्ने उल्लेख गरेको छ ।

ऐन पारित भएपछि परम्परागत रूपमा चल्दै आएको बडघर प्रथा संस्थागत भएको बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारूले बताए । बडघर प्रथाभित्र रहेका विकृतिलाई नियमन गर्दै उनीहरूले गर्ने सामाजिक कार्यलाई अभिलेखीकरण गर्न ऐनले सघाउ पुर्याउने उपप्रमुख अञ्जु दहितले बताइन् ।

बारबर्दिया नगरपालिका–११ जब्दी गाउँका बडघर रामबहादुर थारूले नगरपालिकाले बडघर प्रथालाई मान्यता दिएकोमा खुसी व्यक्त गरे । अझै पनि थारू समुदायमा बडघरको नेतृत्वबिना कुनै पनि सामाजिक कार्य गरिँदैन ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार ०९:३३