सूचनाको शक्ति - The Power Of Information

        

भूमिगत पाइपलाइन

नेपाल–भारत ‘पेट्रोलियम पाइपलाइन’मा प्वाल पारेर इन्धन चोरी !

काठमाडौं । भारतबाट बाराको अमलेखगन्जसम्म इन्धन आपूर्तिका लागि प्रयोग भइरहेको ‘पेट्रोलियम पाइपलाइन’बाट इन्धन चोरी भएको खुलेको भएको छ । भूमिगत पाइपमा प्वाल पारेर उक्त प्वालमा सानो पाइप ‘फिट’ गरेर इन्धन चोरी भएको तथ्य प्रकाशमा आएको हो । कहिलेदेखि यसरी इन्धन चोरी हुँदै आएको हो र हालसम्म कति इन्धन चोरी भयो भन्नेबारे प्रस्ट हुन सकेको छैन ।

भारतीय अखबार नवभारत टाइम्सको अनलाइन संस्करणमा प्रकाशित समाचार अनुसार बिहारको सिवानस्थित लकडी नबीगञ्ज क्षेत्रको डुमरा गाउँ नजिकै पाइपलाइनबाट इन्धन चोरी भएको हो । इन्डियन आयल कर्पोरेसनका अधिकारीहरुले घटनास्थलको निरीक्षण गरिसकेको जनाइएको छ । नवभारत टाइम्सका अनुसार बिहारमा यस प्रकारको चोरीको यो पहिलो घटना भएको बताइएको छ ।

पाइपलाइनमाथिको जमिनमा इन्धन चुहावट देखिएपछि पाइपलाइनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले इन्डियन आयल कर्पोरेसनलाई जानकारी दिएका थिए । इन्डियन आयल कर्पोरेसनका कर्मचारी तथा प्राविधिक टोलीले स्थलगत अनुसन्धान गरेपछि चोरीको तथ्य प्रकाशमा आएको हो । जमिनको सतहबाट करिब चार फिट गहिराइमा रहेको पाइपमा प्वाल बनाएर सानो पाइप जोड्दै चोरहरुले इन्धन चोरी गर्दै आएको पाइएको हो ।

नेपाल आयल निगम भन्छ, ‘हामीले क्षति व्यहोर्नुपर्दैन’

नेपाल आयल निगमले भारतीय भूमिमा भएको इन्धन चोरीको असर वा क्षति नेपालले व्यहोर्नु नपर्ने जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार अमलेखगन्ज डिपोमा आइपुगेको इन्धनको मात्र नेपालले भुक्तानी गर्नुपर्ने भएकाले भारतीय क्षेत्रमा चोरी भएको इन्धनको क्षति नेपालले व्यहोर्नुपर्दैन । पटना–मोतिहारी–अमलेखगन्ज पाइपलाइन दक्षिण एसियाकै पहिलो क्रसबोर्डर पेट्रोलियम पाइपलाइन हो ।

१० अप्रिल सन् २०१८ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो पाइपलाइन बिहारको मोतिहारीमा शिलान्यास गरेका थिए । १० सेप्टेम्बर २०१९ मा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाटै रिमोट कन्ट्रोलका माध्यमबाट यो पाइपलाइनको संयुक्त रुपमा उदघाटन गरेका थिए । तत्कालका लागि यो पाइपलाइनबाट नेपालमा डिजेलमात्र आपूर्ति गरिएको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार ११:४५