सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जको ट्राफिक व्यवस्थापन फितलो

बल्दैनन् ई–रिक्साका इन्डिकेटर !

फाइल तस्वीर

बाँके । यतिवेला नेपालगन्जका सडकमा अस्तव्यस्त देखिन्छन्, ई–रिक्सा । न पार्किङ्गको राम्रो प्रबन्ध छ, न त ट्राफिक नियम पालना । अझ नेपालगन्जमा गुड्ने अधिकांश ई–रिक्साका इन्डिकेटर बल्दैनन् । इन्डिकेटर नबल्दा गाडी चालक दोधारमा पर्छन् र दुर्घटनासमेत हुने गर्छन् ।

दिनहुँजसो नेपालगन्जमा हुने सानाठूलो दुर्घटनाका कारकमध्ये ई–रिक्सामा इन्डिकेटर नबल्नु पनि एक हो । इन्डिकेटर नबालेरै ई–रिक्सा चालकले आफूखूसी बाटो काट्ने, झ्याप्पै रोक्दा दुर्घटना हुने गरेको छ । सवारी साधनमा आएको बढोत्तरी र यसको विकाससँगै यसको सहीरुपमा ब्यवस्थापन हुन नसक्दा सडक दुर्घटनाको उच्च जोखिम बढेको जानकार बताउँछन् ।

नेपालगन्जमा दिनहुँ करिब एक हजार बढि ई–रिक्सा गुड्छन् । जसमध्ये अधिकांश ई–रिक्साहरु जोखिमपूर्ण अवस्थामा रहेका छन् । ई–रिक्साका सवारी धनी र चालकले लापरबाही गर्दा दुर्घटनाको जोखिम बढिरहेको हो । सडकमा गुड्ने यस्ता थुप्रै ई–रिक्साको गुणस्तरता र तीनका अवस्था कमजोर छ ।

सवारी साधनमा हुनुपर्ने सामान्य मापदण्डलाई समेत मध्यनजर नगरी गाडी चलाउनु आफैमा जोखिमपूर्ण कार्य हो । अझ ई–रिक्सा चालकले त्यसैमा आफूखुसी सडक काट्ने, मनपरि ठाँउमा रोक्ने गर्दा हामी ठूला गाडी चालकलाई समस्या भइरहेको नेपालगन्ज–कोहलपुर सडकखण्डमा पाँच वर्षदेखि माइक्रो बस गुडाइरहेका चालक इन्द्रबहादुर थापाले बताए ।

‘ई–रिक्साले एक्कासी बाटो काट्छन्, रोक्छन् उनीहरुले इन्डिकेटर पनि बाल्दैनन् यस्तोबेला हामी झुक्किन्छौं र गाडी ठोक्किने कि त दुर्घटना हुने गरेको छ,’ उनले भने, ‘पहिलेजस्तो छैन नेपालगन्ज, अहिले सवारीको चाप बढेको छ, सर्वसाधारणहरुको पनि भीड लाग्ने गर्छ । यस्तो अवस्थामा ई–रिक्सा चालकले बेप्रवाह रिक्सा चलाउछन् र दुर्घटना बढाइरहेका छन् ।’

जाडोको सुरुवात बढेसँगै नेपालगन्जमा लाग्ने बाक्लो हुस्सु र कुहिरोमा यस्ता सवारी साधन गुडाउँदा झन् दुर्घटनाको जोखिम बढ्छ । नेपालगन्जमा गुड्ने ई–रिक्साको यस्तो अवस्थाले दिनमा मात्र होइन रातीको समयमा पनि जोखिम बढाएको छ । रातको समयमा चल्ने अधिकांश ई–रिक्सामा हुनुपर्ने इन्डिकेटर र लाइट विना नै गुडिरहेका हुन्छन् ।

कतिपय ई–रिक्सामा लागेको ठूला डिजिटल फोकस लाइटले अगाडी हेर्न समेत गाह्रो हुन्छ, र पैदल यात्रुमात्र होइन अन्य सवारीसाधन समेत चलाउन हम्मे–हम्मे हुने गरेको मोटरसाइकल चालक प्रदिप गुप्ता बताउँछन् । सर्वसाधरणका लागि सहजता लागि ई–रिक्सा आरामदायी सवारी साधन भए पनि यसमा हुनुपर्ने न्यूनतम मापदण्ड पुरा नगरिदिँदा दुर्घटना बढेको छ ।

यसरी इन्डिकेटर विना निर्वाधरुपमा नेपालगन्जमा गुड्ने ई–रिक्साहरुको नियन्त्रण तथा व्यवस्थापनमा भने सम्बन्धित निकायले भने खासै चासो दिन सकेको छैन । नेपालगन्जको ट्राफिक ब्यवस्थापनको जिम्मा पाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले ई–रिक्सालाई व्यवस्थित पार्किङ्गसमेत गर्न सकेको छैन ।

नेपालगन्जको पुष्पलाल चोक, धम्बोझी चोक, विपी चोक, गणेशमान चोक, त्रिभुवन चोक तथा भेरी अञ्चल अस्पताल, आँखा अस्पताल, त्रिवेणीमोड, फुल्टेक्रा चोक लगायतका सर्वसाधारणको भीड हुने स्थानमा समेत ई–रिक्साहरु ट्राफिक प्रहरीकै अगाडी आफूखुसी पार्किङ गर्ने, मनपरि सवारी ओराल्ने र चढाउने काम भइरहेको छ ।

यी स्थानमा ट्राफिकको उपस्थिति भए पनि यसको व्यवस्थापनमा खासै चासो दिएको पाइँदैन । जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक राजु भण्डारीका अनुसार नेपालगन्जमा दिनहुँ एक हजारको संख्यामा ई–रिक्सा गुड्छन् । तर इन्डिकेटर र लाइटविनाका ई–रिक्सा नियन्त्रणमा समस्या भइरहेको उनले बताए । ई–रिक्साहरुको नियन्त्रण तथा ब्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिकासँग छलफल भइरहेको पनि उनले बताए ।

उनले सर्वप्रथम सवारी धनी र चालकले ध्यान दिनुपर्ने बताउँदै इन्डिकेटर विना चल्ने ई–रिक्सा नियन्त्रण गर्ने प्रतिबद्धता ब्यक्त गरे । ‘नगरको ट्राफिक ब्यवस्थापन गर्ने कार्य ट्राफिक प्रहरीको मात्र नभइ सम्पूर्ण नगरबासीको पनि उतिकै जिम्मेवारी हो,’ उनले भने, ‘अब हामी इन्डिकेटर विना गुड्ने ई–रिक्साको ब्यवस्थापनलाई चुस्त बताउँछौं ।’

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार ११:१६