सूचनाको शक्ति - The Power Of Information

        

भूमिगत जीवन

फेरिए ‘विप्लब’, बने ‘इमानसिंह’

काठमाडौं । तत्कालीन विद्रोही समूह नेपाल कम्युनिष्ट पार्टी माओवादीले ५२ सालदेखि नेपालमा विद्रोहको सुरुवात गरे । सुरुमा भूमिगत र पछि छापामार शैली हुँदै १० वर्षसम्म विद्रोह गर्दा पार्टीमा धेरै नेता तथा कार्यकर्ता भूमिगत भए ।

भूमिगत हुँदा तल्लो तहका कार्यकर्तादेखि माथिल्लो तहका नेताहरुले आफ्नो वास्तविक नामलाई लुकाउँदै उपनाम राख्ने गर्थे । त्यसताका उपनाम राख्ने चलनै चल्यो । चट्टान, विद्रोह, बादल, किरण, आकास, सागर, आधारजस्ता उपनाम राख्ने क्रम चल्यो ।

तत्कालीन विद्रोहका सुरुवातकर्ता पुष्पकमल दाहाल (प्रचण्ड)को समेत विभिन्न उपनाम थियो । भूमिगत हुँदा कल्याण, विश्वास, निर्माणपछि मात्रै उनको नाम प्रचण्ड रहन गयो । त्यस्तै हालका गृहमन्त्री रामबहादुर थापाले बादल नाम राखे । मोहन वैद्यले किरण । सोही समय भूमिगत भएका नेत्रविक्रम चन्दले पनि आफ्नो उपनाम विप्लब राखे ।

उनले आफूलाई सबैसामु सोही नामले चिनाए । अहिले पनि यसै उपनामले उनलाई चिन्छन् । बाहिर सबैले उनलाई विप्लव उपनामले चिने पनि पार्टीभित्र भने उनलाई अर्काे उपनामले चिनिन्छ । उनले पछिल्लो समय आफ्ना उपनाम ‘इमानसिंह’ राखेका छन् । पार्टीका सबै नेता तथा कार्यकर्तामाझ उनी यही नामले परिचित छन् ।

पार्टीका एक उच्च स्रोतले यसको पुष्टिसमेत गरेको छ । त्यस्तै ललितपुर जिल्ला अदालतमा दायर भएको हातहतियार तथा खरखजना–विष्फोटक पदार्थसम्बन्धी एक मुद्दामा नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का महासचिव इमानसिंह भन्ने नेत्रबिक्रम चन्द (विप्लब)लाई समेत प्रतिवादी बनाएको प्रमाणले उनको नाम फेरिएको पुष्टि हुन्छ ।

पछिल्लो समय पूर्ण भूमिगत भइ तत्कालीन विद्रोही माओवादीले त्यस समय गर्ने गरेका गतिविधिहरु दोहोर्यारहेका छन् । उनी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपालमा तहल्कै मच्चाइरहेको छ । राज्यले उनको पार्टीको गतिविधिलाई हेरेर प्रतिबन्धसमेत लगाएको छ । उनको पार्टीको गतिविधि राज्यको सुरक्षालाई समेत चुनौति दिने खालको छ ।

विप्लब समूहले समेत परिचित उनको पार्टीले अपहरण, चन्दा आतंक, सैन्य तालिम, स्कुलका विद्यार्थीलाई प्रशिक्षण, पार्टीविरोधी सुराकी सफाइजस्ता द्वन्द्वकालीन गतिविधि गरिरहेको छ । राज्यको उपस्थिति कम देखिने नेपालमा विकट भूगोल छान्दै उनले यस्तो गतिविधि गरिरहेका छन् । विष्फोटक पदार्थ तथा हातहतियारसहित उनका सयौँ नेता तथा कार्यकर्ता पक्राउ परी प्रहरी हिरासतमा छन् ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार १०:१८