सूचनाको शक्ति - The Power Of Information

        

परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक आज नयाँ दिल्लीमा बस्दै

काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक  शुक्रबार भारतको नयाँ दिल्लीमा बस्दैछ । बैठक बिहान साढे ११ बजे हैदरावाद हाउसमा बस्ने बताइएको छ ।

बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बिहीबार नै दिल्ली पुगिसकेका छन् । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्री ज्ञवाली र भारतीय पक्षको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गर्नेछन् ।

भारतले नेपाली भूमि समेटेर एकतर्फी रूपमा नयाँ राजनीतिक नक्सा गत वर्ष प्रकाशन गरेयता दुई देशबीच सम्बन्ध तनावपूर्ण रहँदै आएको छ । नेपालले पनि आफ्नो भूभाग समेटर नयाँ राजनीतिक नक्सा प्रकाशित गरेपछि दुई देशको सम्बन्ध थप चिसिएको थियो भने संवाद ठप्प भएको थियो । भारतले सो नक्सालाई अस्वीकार गर्दै आएको छ । तर, पछिल्लो समय भने दुई देशबीचको संवादहीनता अन्त्य भएको छ ।

यही पृष्ठभूमिमा हुन लागेको बैठकलाई धेरैले चासो दिएर हेरिरहेका छन्, विशेष गरेर सीमा विवादको विषयमा दुई देशबीच के छलफल हुन्छ भन्नेमा ।  नेपाली पक्षलले सीमाको मुद्दालाई विशेष जोड दिने बताइरहेको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले आयोगको बैठकमा राजनीतिक र सीमालगायत सबै पक्षमा छलफल हुने बताए । तर भारत भने आयोग बैठकमा सीमासम्बन्धी विषयलाई प्राथमिकतामा राख्ने पक्षमा देखिएको छैन ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार १०:०२