सूचनाको शक्ति - The Power Of Information

        

बाँदर लड्ने भीरमा आकर्षक खेलमैदान

फाइल तस्वीर

सिन्धुपाल्चोक । भीर पाखाका बीचमा ४५ मिटर चौडाइ र ८५ देखि १०० मिटरसम्म लम्बाइको खेलमैदान निर्माणको कल्पना गर्नु नै असम्भव लाग्छ । तर आँट गरे के हुँदैन र ? सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ ठूलो पलाँतीको बाँदर लड्ने भीरमा आकर्षक खेलमैदान निर्माण भएको छ ।

आर्थिक वर्ष २०७१–२०७२ देखि जल उत्पन्न प्रकोप नियन्त्रण विभागको आर्थिक सहयोगमा खेलमैदान निर्माणको काम अघि बढेको थियो । तत्कालीन सांसद एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले यसको पहल लिएका थिए । चिलाउने र अँगेरीका बुट्यानले ढाकेको बाँदरसमेत लड्ने भीरको नामले चिनिने स्थानमा खेल मैदान निर्माण गरी पुस २२ देखि २८ गतेसम्म जिल्लाव्यापी फुटबल प्रतियोगितासमेत आयोजना गरिएको छ ।

अँगेर पाखा सामुदायिक वनको भीर पाखा खारेर करिब १० रोपनी क्षेत्रफलमा फैलिएको खेल मैदान निर्माण गर्न करिब १० करोड खर्च भएको छ । विभागले सात करोड, पूर्व मन्त्री बस्नेतले आर्थिक वर्ष २०७३–२०७४ मा सांसद पूर्वाधार विकास कोषबाट, स्थानीयवासी एवं सङ्घ संस्थाको समेत सहयोग जुटाएर खेल मैदान निर्माण गरिएको हो ।

भीरमा माथिबाट कटिङ र तलबाट जालीको पर्खाल लगाएर खेलमैदान तयार गरिरहेकै बेला विसं २०७२ वैशाख १२ गतेको भूकम्पले सबैभन्दा बढी क्षति पुर्याएको सिन्धुपाल्चोकमा बनिरहेको खेलमैदानलाई पनि बाँकी राखेन । निर्माणाधीन खेलमैदानमा पनि भूकम्पले क्षति गरेको पूर्वमन्त्री बस्नेत बताउँछन् । भूकम्पले जाली गारो भत्किएपछि भौगोलिकरूपमा भीर, पाखाको दुर्गम बस्तीमा आरसिसी प्लङ ढलान गरेर आकर्षक खेलमैदान तयार गरिएको हो ।

पुल बनाउन राखिने रड राखेर बलियो गरी खेलमैदान तयार गरिएको छ । खेलमैदान तयार भएसँगै फुटबल, भलिबललगायत खेलकुदका लागि टाढाटाढा पुग्नुपर्ने समस्या समाधान भएकाले युवाहरु खुसी भएका छन् । भीरपाखा काटेर र पर्खालले उचालेर निर्माण गरिएको खेलमैदानबाट खेलाडी दर्शक नलडुन् भनी करिब ६०० मिटर भागमा नारायणहिटी दरबारको भन्दा आकर्षक डण्डी राखेर बार लगाइएको छ । बार करिब छ मिटर उचाइको छ ।

यो बार भने निजी क्षेत्रका तर्फबाट निर्माण गरिएको हो । खेलमैदानसँगै ठूला र सानाका लागि छुट्टाछुट्टै पौडी पोखरी, कभर्ड हल, स्वास्थ्य चौकी र हेलिप्याडसमेत निर्माण भइसकेको छ । बाह्रबिसे, लामोसाँघु बजार, सुनकोशी र भोटेकोशीलगायत नदी एवं वरिपरिका आकर्षक डाँडाका साथै हिमाली शृङ्खला देखिने खेलमैदान नजिकै भ्यू टावर समेत निर्माण गरिने योजना छ । योसँगै ठूलो पलाँतीको यो खेलमैदान जिल्लामै आकर्षक खेल पर्यटकीय स्थलका रूपमा विकास हुने भएको छ ।

खेलमैदान निर्माणमा अहोरात्र खटिएका स्थानीयवासी जनार्दन बस्नेत फुटबल, भलिबल खेल्दा गर्मी भए खेलाडीलाई पौडी खेल्न पोखरी निर्माण गरिएको, स्वास्थ्यमा समस्या आए उपचारका लागि स्वास्थ्य चौकी निर्माण गरिएको बताउँछन् । ठूलाका लागि पाँच फिट उचाइ र सानाका लागि तीन फिट उचाइको पौडी पोखरी तयार भएको छ । पौडी पोखरीका लागि चार किमी माथिबाट खानेपानी झारिएको छ ।

झारिएको खानेपानी जम्मा गर्न एक लाख २२ हजार लिटर क्षमताको ट्याङ्कीसमेत निर्माण गरिएको छ । यसबाट पौडी पोखरीमा बेलाबेलामा पानी फेर्न सहज हुन्छ । स्वास्थ्य चौकी निर्माणका लागि अमेरिकाको क्यालिफोर्नियामा बस्ने स्थानीयवासी पूर्वमन्त्री बस्नेतका भाइ प्रकाश बस्नेतले सहयोग गरेका छन् । स्वास्थ्य चौकीका लागि एक जना स्वास्थ्य सहायक, कार्यालय सहयोगी, एवं निःशुल्क वितरण गर्ने औषधिसमेत सहयोगस्वरूप अमेरिकाको लायन्स क्लबबाट आउने गरेको छ ।

ठूलो पलाँती बाह्रबिसेबाट गौरीशङ्कर हिमाल, विगु गुम्बा, कालिञ्चोकलगायत पर्यटकीय स्थलमा पैदल जाने मार्गसमेत भएकाले खेल पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने छ । बाह्रबिसेबाट छ किमीमाथि पर्ने यो स्थल पैदल मार्गका क्रममा पहिलो आराम गर्ने ठाउँ हो । स्थानीयवासी शेखरबहादुर भण्डारी खेलमैदान बनाउने समयमा दुःख भए पनि बनिसकेपछिको संरचना हेरेर आराम भएको बताउँछन् ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार १०:०१