सूचनाको शक्ति - The Power Of Information

        

विद्रोहीको आक्रमणमा परेर इथियोपियामा ८० जना बालबालिका र महिलाको मृत्यु

काठमाडौं । इथियोपियामा जारी हिंसाका कारण गत हप्तामात्र ८० जनाको मृत्यु भएको छ । दुई वर्ष भन्दा कम उमेरका बालबालिका र महिलासहित ८० जनाको मृत्यु भएको त्यहाँको मानवअधिकार आयोग (इएचआरसी)लाई उध्रित गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

इएचआरसीका प्रवक्ता आरोन मासोले दक्षिणी सुडानको बेनिसांगुल–गुमुज क्षेत्रमा बिहानको समयमा विद्रोहीको हमलाबाट सर्वसाधारण मारिएको पुष्टि गर्नुभयो । घटनाको विषयमा हालसम्म कसैले पनि जिम्मेवारी नलिएको त्यहाँको सरकारले जनाएको छ ।

आक्रमणकारीको पहिचान नभएकाले थप अनुसन्धान भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् । पछिल्ला दिनहरुमा लगातार हिंसात्मक घटनाहरु भइरहेको सो क्षेत्रमा गत डिसेम्बरयता मात्र २७७ जनाको विद्रोहीको आक्रमणमा परेर मृत्यु भएको समाचारमा जनाइएको छ ।

अधिकारवादी संस्थाहरुका अनुसार विद्रोहीको लगातारको आक्रमणका कारण हजारौं सर्वसाधारण विस्थापित भएका छन् । यता सरकारले नागरिकको सुरक्षा दिन नसकेको भन्दै विपक्षी दलहरुले प्रधानमन्त्रीको आलोचना गरेका छन् ।

उनीहरुले जातिय हिंसा भड्किएपनि सरकारले त्यसलाई रोक्न कुनै कदम नचालेकोसमेत आरोप लगाएका छन् । दुई महिनाअघि मात्र टिग्रे क्षेत्रमा पनि विद्रोहीको आक्रमणका कारण हजारौं सर्वसाधारण विस्थापित भएका थिए । एजेन्सी

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार ०८:२४