सूचनाको शक्ति - The Power Of Information

        

ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्ताव संसदको तल्लो सदनबाट पारित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाइएको छ ।

अमेरिकी संसदको तल्लो सदनले ट्रम्पविरुद्धको महाअभियोग लगाउने प्रस्ताव पारित गरेको छ । योसँगै राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बन्नु भएको छ ।

गत बुधबार अमेरिकी संसद् भवनमा हुलदङ्गा गर्न प्रोत्साहित गरेको अभियोगमा राष्ट्रपति ट्रम्पविरुद्ध डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।

सार्वजनिक मत परिणाम अनुसार महाभियोग प्रस्तावको पक्षमा २३२ मत परेको छ । महाभियोग पारित हुन २१७ मत आवश्यक पर्ने कानुनी व्यवस्था छ । तल्लो सदनमा डेमोक्र्याटिक पार्टीका २२२ जना सदस्य छन् ।

तर ट्रम्पको दलका १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीले दावी गर्नुभएको छ । महाअभियोग प्रस्तावको विपक्षमा १९७ जना रिपब्लिकन सांसद रहेको बीबीसीले जनाएको छ ।

तल्लो सदनले सन् २०२० मा पनि उहाँ विरुद्ध महाभियोग पारित गरेको थियो । तर त्यसबेला एकजना पनि रिपब्लिकनले महाभियोगमा साथ दिएका थिएनन् । अब उक्त प्रस्ताव माथिल्लो सिनेटबाट पनि पारित हुन दुई तिहाइ बहुमत आवश्यक पर्छ ।

संसदको माथिल्लो सदनमा त्यो संख्या पु¥याउन ट्रम्पको दलका सिनेटरहरूको पनि साथ आवश्यक पर्ने बताइएको छ । कम्तीमा १७ जना रिपब्लिकन सिनेटरहरूले ट्रम्पको विपक्ष र महाभियोगको पक्षमा मतदान गरेमात्र उहाँ पदमुक्त हुने बताइएको छ ।

दुई तिहाइ बहुमत आवश्यक हुने भएकाले डेमोक्र्याटहरूकै बलमा मात्र सिनेटमा आरोप पुष्टि हुन सम्भव हुनेछैन । तर रिपब्लिकनहरूको साथ पाएर त्यो पारित भयो भने पनि उम्मेद्वाार बन्न नदिन अर्को मतदान गराउनु पर्ने हुन्छ ।

यसअघि तल्लो सदनले संविधानको एउटा प्रावधानअनुसार ट्रम्पलाई पदमुक्त गर्न उपराष्ट्रपति माइक पेन्सलाई सहयोगको आग्रह गर्ने प्रस्ताव पारित गरेको थियो । पेन्सले त्यो प्रस्ताव अस्वीकार गरेलगत्तै डेमाक्र्याटहरू महाभियोगको प्रक्रियामा अघि बढेका हुन् । एजेन्सी

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार ०७:१९