सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधिसभा विघठन प्रकरण

संवैधानिक इजलासमा न्यायाधीश प्रधानको इन्ट्रीले फेरि पनि समस्या

काठमाडौं । प्रतिनिधिसभा विघटनबिरुद्ध परेको रिट हेर्नका लागि गठित संवैधानिक इजलासमा न्यायाधीश वरियतामा १० औं नम्बरमा रहेकी न्यायाधीश सपना मल्ल प्रधानलाई सहभागी गराइएको छ । न्यायाधीश प्रधानलाई सहभागी गराएपछि प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणाले गठन गरेको संवैधानिक इजलास गठनमा फेरि पनि समस्या देखिएको छ ।

अघिल्लो बुधबारको संवैधानिक इजलासबाट हरिकृष्ण कार्कीले बाहिरिने निर्णय गरेपछि प्रधान न्यायाधीश राणाले कसलाई सहभागी गराउलान् भन्ने चासो थियो । वरिष्ठता क्रममा दुई नम्वरमा रहेका दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत हुँदाहुँदै राणाले सपना प्रधान मल्ललाई संवैधानिक इजलासमा सहभागी गराएका छन् ।

मल्ल पूर्व नेकपा एमालेको समानुपातिक कोटाबाट संविधानसभा सदस्य भइसकेकी छन् । प्रधानन्यायाधीश जबराले इजलासमा अन्य भने पुरानै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई निरन्तरता दिएका छन् । यसअघि इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्की कन्फिल्ट अफ इन्ट्रेटको विषय उठेपछि बाहिरिएका थिए ।

हरिकृष्ण कार्की विवादमा आएर संवैधानिक इजलासमा नबस्ने निर्णय गरिसकेपछि पनि राणाले त्यसबाट सबक नसिकेका एक जना वरिष्ठ अधिवक्ताले बताए । न्यायाधीश प्रधान पहिलो संविधान सभामा तत्कालीन नेकपा एमालेतर्फबाट सांसद भएकोले उनका विषयमा पनि कानुन व्यवसायीहरुले प्रश्न उठाउन सक्ने छन् ।

केपी शर्मा ओली २०७२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा वर्तमान न्यायाधीश कार्की महान्यायाधिवक्ता थिए । उनलाई संवैधानिक इजलासमा राखिएपछि संसद् विघटनविरुद्ध बहस गर्ने कानुन व्यवसायीले प्रश्न उठाएका थिए । यसैले उनी गत बुधबार इजलासबाट बाहिरिएका हुन् । त्यसपछि प्रधानन्यायाधीश राणाले आज इजलास पुनःगठन गरेका हुन् ।

प्रकाशित मिति : २९ पुष २०७७, बुधबार ११:३२