सूचनाको शक्ति - The Power Of Information

        

पुस्तक समीक्षा

उपन्यास लभ इन जेरुसलेम : एक दृष्टि

२०७७ साल आश्विनमा पैरबी बुक हाउस प्रालि पुतलीसडक काठमाडौंबाट प्रकाशित कल्पना खरेलद्वारा लिखित उपन्यास ‘लभ इन जेरुसलेम’ हात परेको पनि झण्डै झण्डै एक महिना पुग्न थालेछ । आफ्नै व्यक्तिगत बेफुसदीका कारण एकै बसाइमा यो उपन्यास हेर्न समय मिलेको थिएन । तर किताव र यसको शिर्षकले नहेरी छुट्टि दिएन । त्यसैले केही समय खर्चेर भए पनि यसलाई आद्योपान्त पढे । त्यो पढाईले यो सानो आलेख तैयार गर्न प्ररित गर्यो । यो छोटो आलेख यो उपन्यासबारेको मेरा अनुभुतिहरुको सानो सङ्गालो मात्र हो । म कुनै आधिकारीक समालोचक वा आलोचक पनि हैन । त्यसैले यो उपन्यास पढ्दा पाठको हैसियतमा मैले जे भेटे तीनै अनुभूतिहरुलाई समेटेर यो छोटो लेख तयार भयो ।

यो उपन्यासको बाह्य आवरणदेखि लिएर केही साना प्राविधिक कमीकमजोरीबाहेक सबै प्रशसनीय छन् । यस उपन्यासको शीर्षक रोचक हुनुका साथै युवा पिढीका पाठकहरुलाई आकर्षण गर्न सफल हुनेमा म विश्वस्त छु । लेखक कल्पना खरेल यस क्षेत्रकै स्थापित कथाकार, उपन्यास लेखिकाका अतिरिक्त सफल गीतकार पनि हुन । ‘लभ इन जेरुसलम’ भन्ने उपन्यासले आउँदा दिनमा उनलाई उपन्यासकारका रुपमा स्थापित गर्ने छ भन्नेमा म विश्वस्त छु । यो उपन्यास (२३० पृष्ठ)को र ४५ भागमा विभक्त छ । हरेक खण्ड विशिष्ट खाले छन् । यस उपन्यासले संक्षिप्तमा समग्र इजरायललाई समेटेको छ । विदेश नगएकाहरुका लागि उपन्यासमा परदेशको जीवनशैली र त्यो परिवेशमा एउटा नेपाली नारीले भोग्नुपर्ने कथा र व्यथा र समेटिएका छन् । विदेश जानुपर्ने बाध्यताहरुबारे उपन्यासकारले दुखेसाहरु समेटेकी छन् ।

बाध्यताले थिच्यो मलाई, भाग्यले मिच्यो मलाई दोष कसलाई दिनुछ र जिन्दगीले किच्यो मलाई (पेज ९) पराया देश, फरक संस्कार र फरक परिवेषबाट विदेशीएकी एउटा नारीलाई आईपर्ने कतिपय समस्याबारे उल्लेख छ भने अर्कोतिर नेपाली समाज र सरकारप्रतिको आक्रोश पनि उत्तिकै छ । (पेज ११) नेपालमा रोजगारी छैन । के गरेर बस्ने ? पहुँच हुनेको चल्छ । राजनिति गर्नेको चल्छ । जसको पावर छ, उसैको रजाई छ । समाजमा व्याप्त विसङ्गतिबारे कटाक्ष गर्दै सर्वसाधारणको केही छैन । योग्यताको भ्यालु छैन । पावर र लिङ्क चल्छ । राजनीति हावी छ । जताततै ‘भ्रष्टाचारले चुर्लुम्मै डुवाइसक्यो देश’ भन्दै नेपाल र यहाँको राजनीतिक व्यवस्थामाथि सरल र सामान्य पाराले व्यङ्ग्य कसको छ । रमाउन सक्नुपर्ने रहेछ । जिउन जान्नुपर्ने रहेछ । (पेज २७) भन्दै परिस्थिसँग जुध्नु र त्यसको सामनागर्ने हौसला प्रदान गरेको देखिन्छ । एवम् क्रमले उपन्यास पढदै जादा रोजगारीका लागि विदेशीने युवायुवतीहरुलाई यस उपन्यासले विविध मन्सायले इजरायल जान चाहने जो कोहीलाई त्यहाँको समाज, ठाँउका र परिवेशबारे जानकारी उपलब्ध गराएको छ ।

यो उपन्यासले घर परिवार वाट टाढा रहदाँको पीडा, सामाजिक असुरक्षा अनि एउटा महिला वा पुरुषमा एक अर्कोप्रति हुने आकर्षण र त्यो बढ्दै गएर प्रेममा परिवर्तन हुने सम्बन्धबारे पनि खुल्ला दिलले यसरी व्यक्त भएको छ । प्रेम आफै हुँदोरहेछ । प्रकृतिको नियम यस्तै । न जातभात हर्ने प्रेमले, न भूगोल, न आफ्नो भाषा चाहिने, न त रुप छ प्रेमको नत आकार (पेज ३५) भन्दै प्रेम र त्यसबाट हुने आनन्दबारे उपन्यासकारको विचार कुनै प्रेम रसको दार्शनिक भन्दा फरक देखिँदैन । एवम् क्रमले यो उपन्यासमा वयस्क पाठकहरुलाई मनपर्ने सामग्रीहरुको पनि प्रचुरता छ भने पछाडीका भागहरुमा विदेशका काम गर्दाको पीडा अनि घरप्रतिको जिम्मेवारीको मारमा च्याँपिएका एकथरी महिलाको आक्रोस पनि समेटिएको छ ।

उपन्यासको अर्को पाटो भनेको शसस्त्र द्वन्द्वको बेला गाउँघरतिर दिनदिनै जस्तो देखापर्ने हतियारधारी लडाकुहरुको हुल अनि उनीहरुकै हप्काईमा उनीहरुलाई नै मिठो मसिमो खवाउनुपर्ने, स्वागत गर्नुपर्नेजस्ता बाध्यात्मक ग्रामीण परिवेश र त्यसबाट जोगिनका लागि सबै विर्सेर लाचार भएका गाउँवासीको व्यथा पनि समेटिएको छ । उपन्यासकारमा स्वदेशी पुरुष र उनीहरुका व्यवहार र उनीहरुको हैकमी स्वभावप्रति आक्रोस समेटिएको छ भने रोजगारका लागि विदेशीएका नेपाली पुरुष कामदार वा महिला कामदारहरुले भाषा वा अन्य कागजी प्रकियाका कारण दैनिकजसो सामना गर्नुपर्ने समस्या र इमिग्रेसनको झन्झटबारे पनि उपन्यासमा चर्चा गरिएको छ ।

इजराइलमा विदेशि महिलालाई उपलव्ध हुनसक्ने ‘गर्लफ्रेण्ड भिसा’बारे पनि चर्चा गरिएको छ । जसले ‘लिभिङग टुगेदर’लाई कानुनी मान्यता प्रदान गर्नेजस्ता कुरा समेटिएका छन् । जसले गर्दा पाठकहरुलाई उपन्यासप्रति थप कौतुहल प्रदान गर्दछ । समग्रमा ‘लभइन जेरुसलेम’ सबै वर्ग र उमेर समूहका महिला र पुरुषहरुका लागि पठनिय त छँदैछ त्यसमाथि विवाह सम्पन्न भएको केहीदिनमै तरुनी पत्नी वा पतिलाई छाडी परदेश जानुको मानसिक पीडा एकातिर हुन्छ भने अर्कोतिर यौनकुण्ठाका कारण हुने शारीरिक र मानसिक पीडाको कथा पनि बेग्लै छ । प्रस्तुत उपन्यासले महिला मनोविज्ञानबारे पनि प्रकाश पारेको छ भन्दा ठिकै होला । (पेज १९२ ) समग्रमा एउटा पाठकको नजरमा यो उपन्यासले समकालिन नेपाली समाज, त्यसबाट उब्जिएका सामाजिक तथा पारिवारिक विखण्डनको अवस्था अनि पति वा पत्नीको विदेश वसाईले हुने पारिवारीक विघटन अनि बाबुआमाबीचको मनमुटावका कारण बालबालिकाहरुमा पर्ने नकारात्मक असरका सम्बन्धमा पनि यस उपन्यासकी लेखिकाले चर्चा गर्नुभएको छ । जसले समाजको भयावह स्थितिबारे पाठकलाई समेत सुसूचित गर्ने काम गरेको छ ।

यो उपन्यास ‘लभ इन जेरुसलम’ सबै उमेरका पाठकहरुका लागि पठनीय र मननीय भएको मैले पाएको छु । आधुनिक समकालिन उपन्यासहरु यथार्थ परक र वास्तविक घटनामा आधारित भएर लेखिएको पाइन्छ । जसमा सुखद र दुखदका घटनाहरु पनि समावेष गरिएका हुन्छन् । जो निकै मनमोहक वा घिनलाग्दा पनि हुन सक्छन् । आधुनिक युग विखण्डन वा एकिकरणको युग हो । त्यसैले धेरैजसो उपन्यासहरुमा द्धन्द (समाजिक पारिवारिक) र निराशा समेटिएका हुन्छन् । तर कल्पना खरेलको यो उपन्यास ‘लभ इन जेरुसलम’ले आशावादी लय समेटेको मैले पाएको छु । यद्यपी वर्तमानमा स्थापित हाम्रा मूल्य र मान्यताका आधारमा उपन्यासकी लेखिका कल्पना खरेलले धेरै आलोचनाहरु पनि सुन्नु पर्ने हुनसक्ने मेरो अनुमान छ । जेहोस् यस उपन्यासकी लेखिका कल्पना खरेललाई मुरीमुरी बधाई र शुभकामना । अस्तु ।

 

नेपालगन्ज
२०७७ पौष २८ गते ।

प्रकाशित मिति : २८ पुष २०७७, मंगलवार १७:३४