सूचनाको शक्ति - The Power Of Information

        

खजुराको ८ औं गाउँसभा

गाउँपालिकालाई प्लाष्टिकमुक्त बनाउने प्रस्ताव पारित

बाँके । खजुरा गाउँपालिकाको ८ औं गाउँसभाले खजुरा गाउँपालिकालाई प्लाष्टिकमुक्त बनाउने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको सभाध्यक्षमा भएको गाउँसभामा सदस्य निसारअलि दर्जीले खजुरालाई प्लाष्टिकमुक्त पालिका बनाउन गरेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

उपाध्यक्ष एकमाया विकले प्रस्तुत गरेको चालू आर्थिक वर्षमा राजश्व संकलनका लागि नयाँ स्रोत पहिचान र विवरण अध्यावधिक गर्ने कार्यसूची पनि सभाले पारित गरेको छ । गाउँसभामा खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिले आर्थिक वर्ष २०७७/०७८ को हालसम्मको खर्च र प्रगति प्रतिवेदन प्रस्तुत गर्दै मंसिर मसान्तसम्म गाउँपालिका तर्फको चालू खर्च ३१ प्रतिशत र पूँजीगत ११ दशमलव ३२ प्रतिशत रहेको जानकारी दिए ।

त्यस्तै संघीय सरकारबाट हस्तान्तरित चालू कार्यक्रमको खर्च ३१ प्रतिशत र पूँजीगत खर्च शून्य रहेको, प्रदेश सकरकाबाट हस्तान्तरित चालू कार्यक्रम खर्च २ प्रतिशत र पूँजीगत कार्यक्रम खर्च ३९ दशमलव २६ प्रतिशत रहेको अध्यक्ष कक्षपतिले बताए । उनले सबै वडामा संचालित विभिन्न योजनाहरुको ठेक्का सम्झौत र उपभोक्ता समितिमार्फ हुने काम पनि सञ्चालनमा रहेको बताए ।

ठेक्काका १८ योजना र उपभोक्ता समितिले ५८ योजनामा काम गरिरहेको उनले जानकारी दिए । अध्यक्ष कक्षपतिले चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटको कार्यान्वयनमा गाउँपालिकाका बासिन्दाबाट साथ सहयोग रहेको भन्दै आभार प्रकट गरे । सभाले चालू आर्थिक वर्षमा केही योजनाहरु संसोधन र परिमार्जनसहित पारित गरेको छ ।

चालू आर्थिक वर्षको राजश्व संकलनको अवस्था सुधार रहेको जानकारी गराउँदै अध्यक्ष कक्षपतिले मंसिर मसान्तसम्म ५६ लाख ५५ हजार ९५६ रुपैयाँ राजश्व संकलन भएको जानकारी दिए । सभामा वडाध्यक्ष तिलकवीर सुनार, देविलाल खनाल, कार्यपालिका सदस्य निसार अलि दर्जी, झुमा योगी, सदस्यहरु देउमाया थापा, जगबहादुर कामी, हजुरा बम, टोपबहादुर ओली, कमाल खाँले भाग लिएका थिए ।

प्रकाशित मिति : २८ पुष २०७७, मंगलवार १७:०१